२०८३ बैशाख ८ मंगलबार
Jhapa Today
Adv top

काँकरभिट्टा नाका बैशाख १० गतेसम्म बन्द


बिर्तामोड, बैशाख ८ । भारतको पश्चिम बङ्गाल राज्यमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ ।

भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ः०० बजेदेखि बैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकरभिट्टा र इलामको पशुपतिनगरसँग सीमा जोडिएको नाकाबाट मानिस तथा सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ ।

भारतको पश्चिम बङ्गालमा बैशाख १० गते विधानसभाको चुनाव हुँदैछ । विगतमा पनि नेपाल र भारत दुवैतर्फ चुनावअघि सहमतिमा नाकामा आवागमन बन्द गरिँदै आइएको थियो ।

‘बोर्डर सिल’ गरिएको अवधिमा पैदल हिँड्ने सर्वसाधारण र सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द गरिने भए पनि उपचारका लागि बिरामी र अति जरुरी कामका लागि परिचय देखाएर सीमामा आवतजावत गर्न दिइनेछ ।

नेपाल र बङ्गलादेशका पर्यटकको हकमा आफ्नो मुलुक जानका लागि भारतीय प्रशासनले परिचय खुल्ने कागजपत्र देखाएमा आवतजावतमा सहजीकरण गरिदिने भएको छ ।

Adv footer