
बिर्तामोड, बैशाख १३ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यो साताभर वर्षाको सम्भावना छ । आज बिहानदेखि चट्याङसहित पानी पर्न सुरु भएको छ ।
कोशी मधेश, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा वर्षाको गतिविधि देखिने भएकाले तापक्रममा केही गिरावट आउने हुँदा शीतल महसुस हुनेछ । साथै, तुवाँलो तथा वायु प्रदूषणमा पनि केही सुधार हुने अपेक्षा छ ।

विभागकी मौसमविद बिनु महर्जनले भनिन्, ‘यो साता मध्यम वर्षाको पानी पर्ने सम्भावना भएकाले गर्मी केही कम हुने देखिन्छ ।’ तराई भेगमा आज आइतबारदेखि मंगलबारभित्र कोशी, मधेश, बागमती प्रदेशका थोरै ठाउँमा तथा गण्डकी र लुम्बिनीका तराईका एक÷दुई ठाउँमा मध्यमसम्म पानी पर्ने सम्भावना छ ।

यसैगरी, बुधबारदेखि बिहीबारभित्र भने कोशी प्रदेशका धेरै ठाउँहरुमा र मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यम खालको पानी पर्ने प्रक्षेपण विभागले गरेको छ ।
पहाडी भेगमा पनि आइतबारदेखि मंगलबारभित्र कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरुमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा मध्यम खालको पानी पर्ने सम्भावना छ ।
बुधबारदेखि विहीबारभित्र भने कोशी, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँहरुमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यमसम्म पानी पर्ने सम्भावना छ ।
मौसमविद महर्जनका अनुसार हिमाली भेगमा पनि आइतबारदेखि मंगलबारभित्र कोशी, बागमती, गण्डकी प्रदेशका केही ठाउँहरुमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा पनि मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना छ ।
बुधबारदेखि बिहीबारभित्र कोशी, बागमती र गण्डकीका धेरै ठाउँहरुमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।
अहिले प्रिमनसुनको समय भएकाले पानी र हिउँसँगै मेघगर्जन चट्याङसहित असिना र हावाहुरीको पनि सम्भावना हुने भएकाले सावधानी अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ ।





