२०८३ बैशाख १३ आइतबार
Jhapa Today
Adv top

बिर्तामोड कृषिथोकमा सटर बेच्ने र भाडामा लगाउने व्यापारीलाई हटाइँदै


बिर्तामोड, बैशाख १३ । आफू व्यवसाय गर्ने भनेर भाडामा लिएको बिर्तामोडको कृषि बजार व्यवस्थापन समितिको सटर अरुलाई बेच्ने व्यापारीलाई कारबाही गरिने भएको छ ।

कृषिथोक बजारमा सम्झौताविपरीत अरुलाई महँगो मूल्यमा सटर बेच्ने व्यापारीलाई कारबाही गरिने भएको हो । समितिले व्यापारीहरुलाई बैशाख ११ गतेसम्मको अल्टिमेटम दिँदै सम्झौताबमोजिम आफैँ व्यवसाय सञ्चालन गर्न विभिन्न पसलहरुमा सूचना टाँसिएको छ ।

व्यवसाय सञ्चालन गर्न एउटा व्यवसायीले सम्झौता गर्ने र त्यो ठाउँ लाखौँ रुपैयाँमा बिक्री गर्ने गरेको पाइएको छ । कतिपय व्यापारीहरुले ३ हजार भाडामा व्यवसाय गर्न सम्झौता गरेको ठाउँ १०–१२ लाखसम्म बिक्री गरेको बुझिएको छ । बिक्री नगरिएको खण्डमा महँगोमा भाडामा लगाउने गरेको सूचना प्राप्त भएको छ ।

कृषिथोक बजारलाई व्यवस्थापन गर्न समितिले पटकपटक असम्बन्धित व्यवसायीहरुलाई ठाउँ खाली गर्न भनेपनि अटेर गरेर व्यवसाय सञ्चालन गरिरहेका छन् ।

व्यवस्थापन समितिले सम्झौता गर्नेबाहेकका व्यवसायीले व्यवसाय सञ्चालन गरिरहेको जनाउँदै ३ दिनभित्र आफैँ सञ्चालन गर्न सूचित गरेको छ । सम्झौताविपरीत व्यवसाय गरेमा कृषि बजार विकास तथा व्यवस्थापन निर्देशिका २०७३ बमोजिम यसअघिको सम्झौता खारेज गरेर कारबाही गरिने जनाइएको छ ।

कृषिथोक बजारमा २५ वटा पसलमा अरु नै व्यवसायवासीहरुले व्यापार गरिरहेको पहिचान गरिएको छ । सम्झौतामा परिवारभित्र बुबा, आमा, छोराछोरीले मात्रै व्यवसाय सञ्चालन गर्न सक्नेछन् । बजारभित्र ३ महिनासम्म भाडा नतिर्ने र सम्झौताविपरीत सामान बिक्री गरेमा समितिलाई सम्झौता खारेज गर्ने अधिकार छ ।

Adv footer