
बिर्तामोड, बैशाख २८ । झापाको बिर्तामोडमा सम्पन्न बिर्तामोड मेयर कप टि–१० क्रिकेट प्रतियोगिताको उपाधि बिर्तामोको आरसिबीले जितेको छ ।

आज महेन्द्ररत्न माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगिताको उपाधिसँगै आरसिबीले नगद ५० रुपैयाँ, मेडल र ट्रफी प्राप्त गरेको छ । फाइनलमा आरसिबीले कनकाईको ह्वाइट वास क्रिकेट टिमलाई हराएको हो ।

उपविजेतामा सीमित ह्वाइट वासले ३० हजार रुपैयाँ, मेडल र ट्रफीमा चित्त बुझायो । आरसिबीले ह्वाइट वासलाई ६७ रनले हराएको हो । पहिलो ब्याटिङ गरेको आरसिबीले ११६ रनको योगफल बनाएको थियो ।

जवाफी ब्याटिङमा ह्वाइट वास ४९ रनमै समेटिएको थियो । फाइनल खेलको प्लेयर अफ द म्याच आरसिबीका अभिषेक लिम्बू भए । उनले नगद एक हजार रुपैयाँ र ट्रफी पाए ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ह्वाइट वासका विवेक खतिवडा भए । उनले नगद तीन हजार रुपैयाँ र ट्रफी पाए । उत्कृष्ट विकेट किपर ह्वाइट वासका निर्मल न्यौपाने, उत्कृष्ट फिल्डर पूर्वेली युवा क्लबका अभिषेक कटवाल भए ।

उत्कृष्ट ब्याट्सम्यान, मेची क्रिकेट कर्नरका मिलन धिमाल र उत्कृष्ट बलर आरसिबीका अभिषेक लिम्बू भए । विधागत विजेता खेलाडीले नगद दुई हजार रुपैयाँ र ट्रफी पाए ।
विजेता तथा उपविजेता खेलाडीलाई प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, वडा अध्यक्ष रोहित प्रसाईं, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, समाजसेवी धर्म ओडारी, आयोजक पूर्वेली गणतान्त्रिक युवा क्लबका अध्यक्ष दिपेन चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा जम्मा १६ वटा टिमको सहभागिता रहेको थियो ।





