२०८३ बैशाख २९ मंगलबार
Jhapa Today
Adv top

दुधे भेट्रान जेठ ५ गतेदेखि हुने


बिर्तामोड, बैशाख २९ । झापाको शिवसताक्षीमा चौथो संस्करणको स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता–२०८३ जेठ पहिलो सातादेखि हुने भएको छ ।

आयोजक दुधे भेट्रान क्लबका अनुसार प्रतियोगिता यही जेठ ५ गतेदेखि जेठ १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता दुधे रंगशालामा सञ्चालन हुनेछ ।

चौथो संस्करणको प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट १६ चर्चित भेट्रान फुटबल क्लबहरूको सहभागिता रहने दुधे भेट्रान क्लबका अध्यक्ष सन्तोष नेम्वाङले जानकारी दिए ।

प्रतियोगितामा पूर्वराष्ट्रिय खेलाडीहरू, अनुभवी फुटबलर तथा चर्चित भेट्रान खेलाडीहरूको उपस्थिति रहने आयोजकको दाबी छ ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ८१ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याच, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता उत्कृष्ट डिफेन्डर तथा उत्कृष्ट प्रशिक्षकलाई पुरस्कृत गरिनेछ । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सर्वोकृष्ट खेलाडीका रुपमा पुरस्कृत गरिनेछ ।

आयोजक क्लबका सचिव विनोद खरेलले प्रतियोगिताले पुराना खेलाडीहरूलाई पुनः मैदानमा उतार्दै नयाँ पुस्तालाई खेलकुदप्रति प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

Adv footer