
बिर्तामोड, जेठ १ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँको पेप्सीकोलास्थित वरुण बेभरेज (नेपाल) प्रालिको ब्याच नम्बर १६८ को पेयपदार्थ बिक्री वितरणमा रोक लगाएको छ ।

विभागको टोलीले आकस्मिक अनुगमनमा उक्त ब्याचको पेयपदार्थमा कैफियत देखिएको आशङ्कामा बिक्रीवितरणमा रोक लगाएको हो ।

काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने एक उपभोक्ताले माउन्टेन ड्यु सेवन गर्दा बान्ता भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभागको द्रुत प्रतिकार्य टोलीले उक्त उद्योगमा तत्काल निरीक्षण गरेको थियो ।

विभागका अनुसार अनुगमनमा उपभोक्ताले सेवन गरेको ब्याच नम्बर १६८ (मितिः ०३/०४/२६) को २५० मिमि प्याकका उत्पादनमध्ये उद्योगको गोदाममा एक क्रेट मात्र फेला परेको र बाँकी उत्पादन डिलरमार्फत बजारमा पठाइसकिएको पाइयो ।

विभागका निर्देशक डा. बालकुमारी शर्माले उक्त ब्याचको उत्पादनमा प्रयोग भएको कच्चा पदार्थको विस्तृत विवरण र खाद्य स्वच्छतासम्बन्धी अभिलेख पाँच दिनभित्र विभागमा पेस सम्बन्धित उद्योगलाई निर्देशन दिएको जानकारी दिए ।

प्रयोगशालाको विश्लेषण प्रतिवेदन प्राप्त नभएसम्म उक्त ब्याचका पेयपदार्थ बिक्रीवितरण नगर्न उद्योग र सम्बन्धित डिलरलाई निर्देशन गरेको पनि उनले जानकारी दिए । विभागका अनुसार उक्त उद्योगमा शङ्कास्पद ब्याचको नमुना सङ्कलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ ।





