
बिर्तामोड, जेठ १९ । झापाको कचनकवल गाउँपालिका–६ बनियानीबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध ब्राउन सुगरसहित एक भारतीय युवालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा भारतको किसनगञ्ज जिल्ला दलेगाउँ पञ्चायत–१ निवासी अन्दाजी २० वर्षीय युवेद राजा रहेका छन् ।

सोमबार साँझ करिब ५ बजे जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो कार्यालय काँकरभिट्टाको टोलीले विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनको शरीर तथा साथमा रहेको सामान जाँच गर्ने क्रममा ६९ ग्राम ६०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरेको जनाएको छ ।

साथै, उनको चलाएको बिआर ३२ भि ६९०९ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राजालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको छ ।






