२०८३ जेठ २० बुधबार
Jhapa Today
Adv top

बिर्तामोडकी राजवंशीको बलात्कारपछि हत्याः ६ डिएसपी फेरिए, अझै खुलेन फाइल


बिर्तामोड, जेठ २० । झापाको बिर्तामोड–२ चैतुबारीकी ४२ वर्षीया दिनो राजवंशीको बलात्कारपछि हत्या भएको पाँच वर्ष पुग्न लाग्दा पनि घटनाका दोषी सार्वजनिक हुन सकेका छैनन् ।

अवधिमा इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडको नेतृत्व सम्हालेका छजना डिएसपी फेरिए तर अनुसन्धान भने अघि बढ्न सकेको छैन । केही समयअघि मात्रै इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्व सम्हाल्न आएका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले पत्रकार सम्मेलनमा आफूलाई काम दिन भनेका थिए ।

तर, उनले यो विषयमा अनुसन्धान नै सुरु नगरेको बताइएको छ । २०७७ सालयता प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाल, सन्तोष आचार्य, रुगमबहादुर कुँवर, सुरज कार्की, प्रकाश विष्ट र विजय श्रेष्ठले बिर्तामोड प्रहरीको नेतृत्व गरेका छन् ।

अपराध अनुसन्धानमा सक्रिय र सफल मानिएका केही अधिकारीले स्थानीयस्तरमा सम्मान र प्रशंसा पाए । तर, दिनो राजवंशी हत्याकाण्ड भने उनीहरूको कार्यकालमा पनि रहस्यमै सीमित रह्यो ।

२०७७ पुस ४ गते साँझ दिनो राजवंशी आफ्ना श्रीमानलाई खाना पुर्‍याउन घरबाट निस्किएकी थिइन् । परिवारका अनुसार उनी साँझ करिब ७ बजे घरबाट हिँडेकी थिइन् । तर, त्यसपछि उनी घर फर्किनन् ।

भोलिपल्ट बिहान स्थानीयले चैतुबारीस्थित मोहन मगरको खेतमा उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।घटनास्थलमा शव उतानो अवस्थामा थियो । नाक र मुखबाट सामान्य रक्तश्राव भएको देखिएको थियो भने शवको छेउमै खाना बोकेको पोको र टर्चलाइट भेटिएको थियो ।

त्यसबेला इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख रहेका डिएसपी मुकुन्द रिजालको नेतृत्वमा अनुसन्धान अघि बढ्यो । प्रारम्भिक चरणमा परिवारभित्रकै कोणबाट अनुसन्धान गरिएको थियो । तर, घटनासँग प्रत्यक्ष सम्बन्ध जोड्ने प्रमाण फेला परेन ।

बिर्तामोडमा प्रहरी नेतृत्व फेरिए पनि दिनो राजवंशी हत्या प्रकरणको फाइल भने अझै खुल्न सकेको छैन । पाँच वर्षअघि चैतुबारीको खेतमा भेटिएको त्यो शवसँगै उठेका प्रश्नहरू आज पनि जवाफको प्रतीक्षामा छन् ।

Adv footer