
बिर्तामोड, असोज १४ । चितवन टाइगर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा बिहीबार काठमाडौँ किङ्स–११ लाई ३ विकेटले हराउँदै चितवनले दोस्रो जित निकालेको हो ।
काठमाडौँले दिएको १४२ रनको लक्ष्य चितवनले १८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । चितवनको जितमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक २६ रन बनाए ।
कमल सिंह ऐरी २३ रनमा अविजित रहे । यस्तै, दिलिप नाथले २३ रन जोड्दा करिम जनतले २१ रन बनाए ।
मोहमद साहजदले २१, भीम सार्कीले ६, सेकुगे प्रसन्नले ५ तथा इशान पाण्डेले ४ रन बनाए । कप्तान सोमपाल कामी शून्य रनमा आउट भए ।
काठमाडौँका जितेन्द्र मुखिया र रायन बर्लले २÷२ विकेट लिए । जनक प्रकाश, सन्दीप लामिछाने र गुलशन झाले १÷१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।
काठमाडौँका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाए । राजु रिजालले २८ रन जोड्दा जनक प्रकाशले २६ रन जोडे ।
रहमानउल्लाह गुर्बाजले ५, अमित श्रेष्ठले ६, अमर रौटेला ५, गुलशन झाले ४ रन जोड्दा रायन बुर्ल सुन्य रनमा आउट भए । सिद्धान्त लोहनी ८ तथा कप्तान सन्दीप लामिछाने ७ रनमा अविजित रहे ।
चितवनका सागर ढकालले ४ विकेट लिए । करिम जनतले दुई विकेट लिए । कमल ऐरी र सेकुगे प्रसन्नले एकएक विकेट लिए ।
काठमाडौँलाई हराएसँगै चितवन तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चितवनले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई हराएको थियो ।
पहिलो हार व्यहोरेको काठमाडौँले २ खेलमा २ अंक जोडेको छ । काठमाडौँ चौथो स्थानमा रहेको छ । काठमाडौँले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई हराएको थियो ।