
बिर्तामोड, कात्तिक २५ । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
अन्तिम दुई क्वार्टर फाइनलमा गौरीगंगा नगरपालिका र कनकाई नगरपालिका विजयी बनेपछि प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको तेस्रो क्वार्टर फाइनलमा सोझै बाई पाएको समूह आइ को विजेता गौरीगंगाले रोङ गाउँपालिकालाई पेनाल्टी सुट आउटमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

त्यस्तै, अन्तिम क्वार्टर फाइनलमा कनकाई नगरपालिकाले सोझै बाई पाएको समूह जी को विजेता गोदावरी नगरपालिकालाई ३–० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्न सफल भयो । खेलमा कनकाईकी दिपा शाही प्लेयर अफ द म्याच घोषित भइन् ।

कनकाईले अब सेमिफाइनलमा ललितपुर महानगरपालिकासँग खेल्नेछ भने अर्को सेमिफाइनलमा गौरीगंगाले धनगढी नगरपालिकाको सामना गर्नेछ । सेमिफाइनलका दुवै खेलहरु कात्तिक २६ गते हुने छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीहरु राष्ट्रिय महिला लिगका लागि छनोट हुने छन् ।

प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको थियो । हरेक समूहको शीर्ष टोली नकआउट चरणमा प्रवेश गरेका थिए । प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
त्यस्तै, प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउनेछन् । उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०–२० हजार प्राप्त गर्नेछन् ।





