झापा, माघ ६ । त्रिभुवन विश्वविद्यालयले अहिले सञ्चालन भइरहेका र हुने सबै तहमा परीक्षाहरू स्थगित गरेको छ ।
त्रि.वि. केन्द्रीय परीक्षा सञ्चालक समितिको आजको बैठकले सम्पन्न हुने क्रममा र सञ्चालनको पूर्वतयारी अवस्थामा रहेका परीक्षाहरू कोरोना संक्रमणको बढ्दो जोखिमका कारण माघ ९ देखि अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
शुक्रबार र शनिबार (भोलि र पर्सि) हुने प्रवेश परीक्षा भने यथावत रहने छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, ‘भोलि र पर्सिको इन्ट्रान्स परीक्षा हुन्छ । त्यसपछिका परीक्षा अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने निर्णय गरेका छौँ ।’
शुक्रबार बिएससी र शनिबार बिबिए र बिसिए कार्यक्रमको प्रवेश परीक्षा हुनेछ । तीन वर्षे एलएलबीको तेस्रो वर्षको माघ १० गतेदेखि र १३ गतेदेखि पहिलो वर्षको परीक्षा लिने तयारी गरेको थियो ।