बिर्तामोड, चैत २७ । बुद्धशान्तिमा सम्पन्न प्रथम शान्तिनगर जागृति नकआउट फुटबल प्रतियोगिताको उपाधि आदर्श युवा क्लब बुद्धशान्तिले उचालेको छ ।
उपाधि भिडन्तमा रोङ फुटबल क्लबलाई २–१ ले हराउँदै आदर्श युवा क्लबले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
उपाधि विजेताको तर्फबाट रविन राई र विशाल माझीले गोल गरेका थिए भने उपविजेताका तर्फबाट कप्तान सुदिप राईले १ गोल फर्काएका थिए ।
उपाधिसँगै आदर्श युवा क्लबले नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता टिमले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उनीहरुलाई प्रतियोगिताका प्रमुख अतिथि रमेशकुमार भुजेल, विशेष अतिथि उपाध्यक्ष मीरा भूर्तेल, वडाध्यक्ष वासुदेव खतिवडा, वडा सदस्य डेगेन्द्र कार्की, कार्यपालिका सदस्य रोहित तोलाङ्गी, झापा जिल्ला फुटबल सघका वरिष्ठ उपाध्यक्ष मनेष दाहाल र आयोजक समितिका अध्यक्ष अजय सरदारले वितरण गरेका थिए ।
त्यसैगरी उत्कृष्ट गोल किपर विजेता टिमका सुमन दास, उच्च गोलकर्ता रविन राई, बेस्ट मिल्ड फिल्ड रिकेश श्रेष्ठ, बेस्ट फरवाड विशाल माझी, बेस्ट डिफेन्स रोङ क्लबका राजन धिमाल र म्यान अफ द म्याच कप्तान सुदिप राई घोषित हुँदै सम्मानित भएका थिए ।