बिर्तामोड, असार ११ । एसिसी महिला टि–२० च्याम्पियनसिपको उपाधि युएईले जितेको छ ।
मलेसियाको किनरारा मैदानमा आज भएको फाइनल खेलमा घरेलु टोलीलाई ५ विकेटले हराउँदै युएईले उपाधि जितेको हो ।
मलेसियाले जितका लागि दिएको १०१ रनको लक्ष्य युएईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो । युएईका थिर्था सतिसले ५५ रनको अर्धशतकीय पारी खेलिन् ।
त्यस्तै, खुसी शर्मा १३ रनमा अविजित रहिन् । मलेसियाका मास इलिसा, एइसा इलिसा र निक नुरले एक÷एक विकेट लिइन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय रन बनाएको थियो । उसका एन्ना हसिमले अविजित २८ रन तथा नुर अरिनाले २५ रन जोडे ।
वान जुलियाले २० रन बनाइन् । युएईका इन्धुजा नन्दकुमारले २ विकेट लिइन् । हिजो भएको सेमिफाइनलमा हङकङलाई हराउँदै मलेसिया फाइनलमा पुगेको थियो ।
त्यस्तै, पहिलो सेमिफाइनलमा यूएई समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।
वर्षा बाधक हुँदा नेपाल बाहिरिएको थियो । एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्लादेश, थाइल्यान्ड, मलेसिया र युएई हुनेछन् ।