बिर्तामोड, भदौ ६ । नेपाली भान्सामा अलैँचीको प्रयोग नभइरहेका बेला यसको प्रयोगमा जोड दिन नेपाल अलैँची व्यवसायी महासंघले अभियान सुरु गरेको छ । अभियानको नारा ‘स्वाद अलैँचीको, मिठास नेपालको’ राखिएको छ ।
कृषि मन्त्रालय, प्रदेश नम्बर १ र स्वीस सरकार विकास सहयोग (एसडिसी) को सहयोग र होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा महासंघले ‘वाह अलैँची’ अभियान सुरु गरेको हो ।
अभियानकै क्रममा झापाको बिर्तामोडमा व्यवसायी र सञ्चारकर्मीसँग ‘वाह अलैँची’ का सदभावनादूत मास्टर सेफ सन्तोष साहले आफ्ना अनुभव साँटेका थिए । साहले अलैँचीको नेपालमा उपयागिताको सम्भावनाबारे पनि सुनाएका थिए ।
साहले पूर्वी नेपालको पहाडी जिल्लाका कृषकहरूको आम्दानीको मुख्य स्रोत अलैँची भए पनि बहुउपयोगी अलैँचीको घरेलु उपभोग र बजार प्रबद्र्धन हुन नसकेको बताए ।
खानेकुरालाई स्वस्थ र स्वादिलो बनाउन अलैँचीको विश्वभर व्यापक प्रयोग भइरहे पनि नेपालमै यसको उपभोग न्यून भएकाले अलैँचीको घरेलु खपत बढाउन ‘वाह अलैँची’ अभियानमा आफू जोडिएको उनले बताए । उनले ६० प्रकारका नेपाली खानामा अलैँचीको प्रयोग गर्न सकिने बताए ।
नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षता तथा दर्लामीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपस्थित सवैले एकजुट हुनु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा महासंघका अध्यक्ष निर्मल भट्टराईले पूर्वी नेपालको पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङलगायत दर्जनौँ जिल्लामा अलैँचीको उत्पादन हुँदै आए पनि नेपालमै खपत कम भएपछि घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैँचीको प्रयोग र उपभोगमा सचेतना अभिबृद्धि गर्ने उद्देश्यले वाह अलैँची अभियान सुरु गरिएको बताए ।
कार्यक्रममा प्रदेश नम्बर १ का कृषिमन्त्री झलकसिंह दर्लामीले नेपाली अलैँचीलाई घरेलु बजारमा प्रबर्द्धन गर्नका लागि आफू लागिपर्ने बताउँदै प्रदेश सरकारले यसका लागि बजेट समेत विनियोजन गरेको जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले भारत लगायत अन्य मुलुकबाट शतप्रतिशत आयात हुने सुकमेलको आयात रोकेर नेपाली अलैँचीको प्रयोग घरेलु बजारमा बढाउनु पर्नेमा जोड दिए ।
महासंघका संस्थापक अध्यक्ष राजेन्द्रप्रसाद घिमिरे, स्वीस सरकारको सहज प्रोजेक्टका टिम लिडर रिक भेन्टर क्याम्पलगायतले आआफ्नो भनाइ तथा अनुभव सुनाएका थिए । कार्यक्रमको सञ्चालन महासंघका महासचिव नारायण चिमरियाले गरेका थिए ।