बिर्तामोड, कात्तिक २६ । डेंगु संक्रमणको जोखिम दैनिक बढ्दै गएको भन्दै बुधबारे जेसीजले डेंगु संक्रमण हुन सक्ने सम्भावित क्षेत्रहरुमा गरिब तथा विपन्न परिवारलाई किटनाशक झुल वितरण कार्यक्रमलाई निरन्तरता दिइरहेको छ ।
केही दिनअघि बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का १५० भन्दा बढी घरपरिवारलाई किटनाशक झुल वितरण गरेको थियो । आज शनिबार समेत बुद्धशान्ति ३ पुलचोकछेउ किराना बस्तीका विपन्न ७५ घरपरिवारलाई किटनाशक झुल वितरण गरिएको बुधबारे जेसीज बर्ष २०२२ का अध्यक्ष मुकेश भट्टराईले बताए ।
उनले बुधबारे जेसीजका पदाधिकारीको जन्मदिनको अवसर पारेर ’जन्मदिन खास दिन’ कार्यक्रमअन्तर्गत विभिन्न गतिविधि सञ्चालन हुँदै आएका समेत सुनाए ।
देशभर डेंगु संक्रमण बढेकाले सचेतनास्वरुप झुल वितरण कार्यक्रम गरिएको कार्यक्रम संयोजक दुर्योधनदेव सिंहले बताए । बुधबारे जेसीजका सदस्य दुर्योधनदेव सिंहको जन्मदिनको अवसर पारेर झुल वितरण गरिएको कार्यक्रमका सञ्चालक तथा महासचिव अर्जुन ढकालले बताएका छन् ।
कार्यक्रममा बुधबारे जेसीजका पूर्वअध्यक्ष नन्दुयाफु राईले वर्षभरिको आम्दानीबाट बचाएको रकमलाई आफ्नो जन्मदिनको अवसरमा खर्च गर्ने जेसीजको अभियान रहेको उल्लेख गरेका थिए ।
उनले स्थापनाकालदेखि नै आफ्ना कार्यक्रममार्फत बुधबारे जेसीजले समाजमा टेवा पुर्याइरहेको स्मरण गराएका थिए ।
कार्यक्रममा बुधबारे जेसीजका कोषाध्यक्ष विनोद रिजालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने उपाध्यक्ष राज पौडेलले आस्था वाचन गरेका थिए ।