
बिर्तामोड, बैशाख १२ । चौथो संस्करणको बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्ट यही बैशाख १४ गतेदेखि हुने भएको छ । तेस्रो संस्करण भएको ३९ महिनापछि चौथो संस्करण हुन लागेको हो ।
आयोजक बिर्तामोड भेट्रान्स फुटबल क्लबले खेल मैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । क्लबका अध्यक्ष किरण थापाका अनुसार प्रदेशस्तरीय हुने प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका कोषाध्यक्ष झलकसिंह राजवंशीले बताए ।

बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा हुने प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद एक हजार ५०० पाउनेछ भने प्रतियोगिताभरिको उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले नगद दुई हजार ५०० पाउने उपाध्यक्ष गणेश सुब्बाले बताए ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद पाँच हजार रुपैयाँ र ट्रफी पाउनेछ । प्रतियोगिताको फाइनल खेल बैशाख २० गते हुनेछ । प्रतियोगितामा झापा, मोरङ, इलाम र सुनसरीका भेट्रान क्लबहरुको सहभागिता रहेको छ ।
यसैबीच, उद्घाटन खेलमा दुधे भेट्रान क्लब र धरान भेट्रान क्लबबीच प्रतिस्पर्धा हुने अध्यक्ष थापाले बताए । दोस्रो दिन बैशाख १५ गते आयोजक निलो र चन्द्रगढी भेट्रान तथा दमक भेट्रान र इलामको फेमीगुरु भेट्रान क्लबीच खेल हुनेछ ।






