२०८१ मंसिर १० सोमबार
Jhapa Today
Adv top
Adv below_nav

एनएसएलमा आज झापा र इलाम खेल्दै


बिर्तामोड, मंसिर ११ । जारी नेपाल सुपर लिग (एनएसएल) मा आज दुई नयाँ टोली झापा एफसी र स्पोर्टिङ इलाम एफसी आपसमा स्पर्धा गर्दैछन् ।

काठमाडौँमा जारी दोस्रो संस्करणको एनएसएलमा यी दुई टोली आज सोमबार भिड्दा ‘इस्टर्न डर्बी’ खेल हुनेछ ।

नयाँ टोली इलामले उद्घाटन खेलमै साविक विजेता काठमाडौँ रेजर्ससँग खेलेको थियो र पहिलो खेलमा १–० ले पराजित भयो ।

झापाको लागि भने सिजनको यो पहिलो खेल हुनेछ । त्यस्तै, दुई टोलीका लागि यो पहिलो खेल हो ।

राष्ट्रिय टोलीका लागि हरि खड्का र निराजन रायमाझीसँगै सर्वाधिक १३ गोल गर्ने कीर्तिमान बराबरी गरेका अन्जन विष्ट झापाको मार्की छन् । उनले पहिलो सिजन ललितपुर सिटी एफसीबाट कप्तानी गरेका थिए । यस सिजन अन्जन झापाको मार्की बनेका हुन् ।

झापाको टिममा अन्जनसँगै राष्ट्रिय टिममा रहेका योगेश गुरुङ, छिरिङ लामा र लकेन लिम्बू पनि छन् । लकेन विश्वकप छनोटमा युएईविरुद्ध घाइते भएका थिए । केही समयअघि घरेलु मैदानमा यमनविरुद्ध भएको खेल गुमाए ।

त्यस्तै, राष्ट्रिय टिमबाट खेलिसकेका आभास लामिछाने झापाको आइकोनिक प्लेअरको रुपमा छन् । राष्ट्रिय टिमबाट खेलिसकेका सुमित श्रेष्ठ पनि यस टिममा छन् ।

सन्तुलित देखिएको झापाली टोलीको मुख्य प्रशिक्षकमा स्पेनका ओरिएल मोहडानो छन् ।

झापाले विदेशी खेलाडीमा पनि स्पेनकै दुईजना अनुबन्ध गरेको छ । जसमा मिडफिल्डर फर्नान्डो कोजार टोरेस र फरवार्ड जोर्ज पेलाएज सान्चेज छन् ।

एनएसएल खेल्ने ९ टोलीमध्ये झापाले मात्र अफ्रिकन खेलाडी राखेको छैन । झापाको अन्य विदेशीमा सर्वियाका गोलकिपर स्टेफन क्युपिक, उज्वेकिस्तानका डिफेन्डर समादार ओचिलोभ र अमेरिकन धीरज मगर छन् ।

मेघराज केसीको प्रशिक्षणमा रहेको इलामको कप्तान तथा मार्कीमा गोलकिपर विकेश कुथु छन् । पहिलो सिजन उनी च्याम्पियन टिम काठमाडौँ रेजर्सका कप्तान र मार्की थिए ।

यसपटक विकेश इलाम पुगे । इलाममा विकेशसँगै च्याम्पियन टिमका आशिष गुरुङ, विमल पाण्डे र आशिष राई छन् ।

इलाममा राष्ट्रिय टिमबाट खेलिसकेका अनुभवी भरत खवास, जितेन्द्र कार्की र नवीन लामा पनि छन् भने संन्यास लिइसकेका राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन पनि छन् । चर्च ब्वाइजबाट ए डिभिजन लिग जितेका फरवार्ड आशिष चापागाईं पनि इलाममा छन् ।

विदेशीतर्फ इलामा सेनेगलका एकेडेमीमा खेलेका युवा खेलाडीहरु फोडे कमारा, अब्दोउलाए बा, अमाथ एनड र इब्राहिम डिजेटे छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer