
बिर्तामोड, मंसिर २७ । झापामा साना तथा घरेलु उद्योगको दर्ता र नवीकरण पछिल्लो समय घट्दै गएको पाइएको छ । विगत चार आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग दर्ता कम देखिएको हो ।
कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार पाँच वर्षअघि झापामा जसरी उद्योग दर्ता भएका थिए, गत आर्थिक वर्षमा एकदमै न्यून संख्यामा दर्ता भएका छन् ।
झापामा आर्थिक वर्ष २०७५/०७६ मा एक हजार २९४ वटा उद्योग दर्ता भएका थिए । आर्थिक वर्ष २०७६/०७७ मा भने उद्योग दर्ताको संख्या एक हजार १९८ वटा छ ।
कोरोनाकालमा उद्योग दर्ता अत्यधिक बढेको तथ्यांक छ । आर्थिक वर्ष ०७७/०७८ मा अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बर बढी घरेलु तथा साना उद्योग दर्ता भए । त्यस वर्ष तीन हजार ११३ वटा उद्योग दर्ता भएका थिए ।
कोरोनाकै प्रभाव रहेको अर्को आर्थिक वर्ष ०७८/०७९ मा फेरि उद्योग दर्ताको संख्या केही घट्यो । उक्त वर्ष एक हजार ९८८ वटा उद्योग दर्ता भए । यो संख्या आर्थिक वर्ष २०७९/०८० मा झन्डै आधा घट्यो । उक्त वर्ष ८८६ वटा उद्योग दर्ता भएका छन् ।
नवीकरण पनि घट्दै
दर्ता भएका घरेलु तथा साना उद्योगहरु नवीकरण पनि नहुने गरेको देखिएको छ । दर्ता भएको तीन वर्षमा उद्योग नवीकरण गर्नुपर्ने प्रावधान छ । तर, उक्त प्रावधान अनुसार झन्डै एक तिहाई उद्योगले नवीकरण नगरेको मन्त्रालयको भनाइ छ ।
आर्थिक वर्ष २०७५/०७६ मा झापामा ५५१ वटा उद्योग नवीकरण भएका थिए । त्यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा १५७, आर्थिक वर्ष २०७७/०७८ मा एक हजार ६६७, आर्थिक वर्ष २०७८/०७९ मा ९०२ र आर्थिक वर्ष २०७९/०८० मा ६४८ वटा उद्योग नवीकरण भएका छन् ।
तथ्याङ्कलाई हेर्दा आर्थिक वर्ष ०७५/०६६ मा दर्ता भएका एक हजार २९४ वटा उद्योगको नवीकरण आर्थिक वर्ष ०७८/०७९ मा हुनुपर्ने हो । उक्त आर्थिक वर्षमा नवीकरणको संख्या ५५१ मात्रै छ । ७४३ वटा उद्योग नवीकरण भएनन् ।
आर्थिक वर्ष ०७६/०७७ मा दर्ता भएका एक हजार १९८ वटा उद्योगमध्ये तीन वर्षपछि एक हजार ४१ वटा नवीकरण नै गरेनन् । १५७ वटाले मात्रै नवीकरण गरेका छन् ।