बिर्तामोड, पुस ५ । ताप्लेजुङको दोभानमा सम्पन्न अन्तरजिल्ला क्लबस्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि झापाको दमकले उचालेको छ ।
ताप्लेजुङको मुकेश मेमोरियल क्लबलाई सोझो सेटमा हराउँदै दमकको पाथिभरा टाइगर भलिबल क्लब च्याम्पियन बनेको हो ।
दोभान बजारमा आज बिहीबार भएको फाइनल खेलमा दमकले ताप्लेजुङलाई २५–१४, २५–१९ र २५–१९ को सेटमा पराजित गर्यो ।
उपाधिसँगै झापाले ३ लाख २ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेतामा सीमित ताप्लेजुङले १ लाख ५१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पायो । प्रतियोगितामा भारत सिक्किमको नाम्ची क्लबसहित ८ टिमको सहभागिता थियो ।
फाइनल खेलेका दुवै टिमको कप्तानी एकैघरका दाजुभाइले गरेकाले खेल रोमाञ्चक बनेको थियो । दमकको नेतृत्व गरेका मुस्कान खुदाङ र ताप्लेजुङ टिमको नेतृत्व गरेका मुकेश दाजुभाइ हुन् । उनीहरु सिदिङवा गाउँपालिका–७ सुरुमखिमका हुन् ।