बिर्तामोड, माघ ५ । झापाको अर्जुनधारा-५ लक्ष्मीपुरमा रहेको होली बेसिल इङलिस स्कुलले राष्ट्रिय सेवा दल (एनसिसी) तालिमका सहभागी क्याडेटहरुलाई प्रमाणपत्र प्रदान गरेको छ ।
तालिममा सहभागी ३६ जना विद्यार्थीलाई आज विद्यालयमा एक कार्यक्रमका बीच प्रमाणपत्र प्रदान गरिएको हो ।
कार्यक्रममा विद्यालयकी प्रिन्सिपल जमुना खड्का, अर्जुनधारा-५ का वडा अध्यक्ष हरि खड्का, खेलकुद विकास समितिका अध्यक्ष बाबाडिआर थारु, एनसिसीकी समन्वय शिक्षक मुना दाहाल लगायतले क्याडेटहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
विद्यालयको तर्फबाट कक्षा-९ का छात्र प्लाटिनम जुनियर अन्डर अफिसर बुद्ध चौधरीको कमाण्डमा १८ महिला र १८ पुरुष क्याडेटहरुले ४९ औँ ब्याच जुनियर डिभिजन तालिम तथा मार्चमास लिएका थिए ।
नेपाली सेनाको राष्ट्रिय सेवा दल कार्यक्रमअन्तर्गत पूर्वी तालिम शिक्षालय याङशिला मोरङमा चौधरीको नेतृत्वमा होली बेसिलका विद्यार्थीहरुले २१ दिने तालिम प्राप्त गरेका थिए ।