-विनिशा शर्मा
भद्रपुर, जेठ १९ । विद्यालयबाट घर जाँदै गर्दा प्रेमी भनिएका किशोरको आक्रमणमा परेर सख्त घाइते भएकी भद्रपुरकी श्रेया राईको प्राथमिक उपचार भएको छ । अहिले उनको होश खुलेको छ । उनी पोस्ट अपरेटिभ कक्षमा छिन् ।
अत्यधिक रक्तश्रापका कारण उनको शल्यक्रिया भने हुन नसकेको उनी उपचाररत ओम साई पाथिभरा अस्पतालका प्रशासन प्रमुख दिप पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार अस्पताल ल्याउँदा श्रेयाको रक्तचाप पनि अत्यन्त न्यून थियो । औषधि दिएर रक्तचाप बढाइएको थियो । त्यसपछि अन्दाजी २ बजेदेखि ६ बजेसम्म उनको रगत रोक्ने र चोट लागेको भागको सिलाइ तथा उपचारको काम गरिएको थियो ।
धारिलो हतियार प्रहार हुँदा टाउको तथा दुवै हातमा गहिरो चोट लागेका कारण पहिलो चरणमा रगत बग्न रोकेर क्रमैसँग शल्यक्रिया गर्दै जाने तयारी गरिएको सघन उपचार विशेषज्ञ डक्टर मुस्कान श्रेष्ठले झापा टुडेलाई जानकारी दिए । श्रेयालाई हिजो २० पिन्ट रगत दिइएको थियो ।
डक्टर श्रेष्ठका अनुसार श्रेयाको निधारमा ठाडो गहिरो चोट छ भने टाउकोको पछाडिको भागमा पनि हतियार प्रहार भएको छ ।
हतियार प्रहारले दाहिने हातको कुहिनोको छेउमा गहिरो चोट लाग्दा नशाहरु चुँडिएका छन् । देब्रे हातका दुईवटा औँला छिनेको अवस्थामा रहेको र जोडिने अवस्था नरहेको डक्टर श्रेष्ठले बताए ।
तत्काललाई रगत रोक्न बाहिरी उपचार गरेर श्रेयालाई होशमा ल्याइएको हो । उनको निधार र पछाडिको भाग सिलाइएको छ । सघन उपचार विशेषज्ञ डक्टर मुस्कान श्रेष्ठ, अर्थोपेडिक डक्टर प्रविन तिम्सिना र न्युरो डक्टर सुमन फुयलको टोलीले श्रेयाको उपचार गरेको थियो ।
हिजो बिहान १०ः४५ बजे प्रेम सम्बन्धमा खटपट भएका कारण भद्रपुर–६ भानुचोकका १८ वर्षीय अभिषेक कर्णले भद्रपुर–९ घोडामारास्थित शान्तिटोलकी १७ वर्षीया श्रेयामाथि धारिलो हतियार (दाउ) प्रहार गरेका थिए ।
घोडामारा प्रहरी चौकीले दाउ प्रहार गर्ने अभिषेकलाई घटनास्थलबाटै पक्राउ गरी जिल्ल प्रहरी कार्यालय झापामा ल्याएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार श्रेया एसएस निकेतन अंग्रेजी माविमा कक्षा ११ मा अध्ययनरत छात्रा हुन् । सोही विद्यालयमा पढ्ने अभिषेक कक्षा १२ को वार्षिक परीक्षा दिएर बसेका थिए ।
बसबाट ओर्लिएर घरतर्फ हिँडेर गइरहेकी श्रेयामाथि अभिषेकले बाटो छेकेर एक्कासि दाउ प्रहार गरेका थिए । पक्राउपछि अभिषेकले श्रेया आफ्नी प्रेमिका भएको र प्रेम सम्बन्धमा विवाद बढेपछि दाउ प्रहार गरेको प्रहरीसमक्ष बयान दिएको जनाइएको छ ।