२०८१ मंसिर २ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बंगलादेश आन्दोलनले नाकामै रोकिए गाडी


मेचीनगर, साउन २१ । बंगलादेशमा विद्यार्थीले गरेको आन्दोलनको प्रभाव नेपालको आयात र निर्यात व्यापारमा परेको छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड काँकरभिट्टाका प्रमुख सुवास पाण्डेका अनुसार दुई देशबीचको आयात–निर्यातका सामान बोकेका गाडीहरू नाकामा अलपत्र परेका हुन् ।

बंगलादेशबाट भन्सार छुटेका ५ वटा गाडी र नेपालबाट छुटेका ११ वटा गाडी बाटोमै रोकिएको जानकारी उनले दिए ।

उनका अनुसार नेपालबाट ११ वटा ट्यांकरमा लोड भएको उखुको खुदो (मोलासिस) निर्यात हुन रोकिएको छ । ‘नेपालबाट बंगलादेशमा धेरै निर्यात हुनेमध्येमा मोलासिस पर्छ, हप्तामा २–३ लट १०–११ वटा ट्यांकर जाने गर्छ, तर यो पटक रोकियो,’ उनले भने ।

पाण्डेका अनुसार नेपालबाट बंगलादेशमा काँकरभिट्टा नाका हुँदै मुसुरोको दाल, चिराइतो, चुत्रो, डाबर च्यावनप्रास लगायत पनि निर्यात हुने गरेको छ । तर, ती सामान यहाँबाट नछुटेका कारण रोकिनु नपरेको उनले बताए ।

त्यस्तै, बंगलादेशबाट आउनुपर्ने थुप्रै सामग्रीहरू उद्योगमै रोकिएको पाण्डेले बताएका छन् । ‘भन्सार नै छुटेका ५ वटा टिस्यु पेपर लोड भएका कन्टेनरहरू बंगलाबन्ध नाकामा आएर रोकिएका छन् । नेपालले आयात गर्ने अन्य वस्तुहरू उद्योगमै लोड भएर बसेका छन् भने केही गोदामै छन् भन्ने जानकारी आएको छ । भन्सार छुटेका ५ वटा कन्टेनर मात्रै आउन बाँकी छ,’ उनले भने ।

पाण्डेका अनुसार काँकरभिट्टा नाका हुँदै नेपालमा बंगलादेशबाट जुट, टिस्यु पेपर, मेडिसिन, धागो धेरै आयात हुने गरेको छ ।

नेपालले बंगलादेश निर्यात गर्दा नेपाली गाडीहरू बंगलाबन्ध–फूलबारी नाकामा पुगेर बंगालदेशको गाडीमा अनलोड गर्छन् भने त्यहीँबाट नेपाल आयात हुने सामग्रीहरू पनि लोड गरेर नेपाली गाडीले ल्याउने गर्छन् ।

काँकरभिट्टाबाट नेपालले साउनयता मात्रै २० करोड ६५ लाख रुपैयाँको आयात गरिसकेको छ भने १ करोड ३५ लाख रुपैयाँको निर्यात गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer