२०८१ मंसिर २ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

घट्दै धान र चामलको आयात


May be an image of 3 people, hospital and text

बिर्तामोड, साउन २२ । नेपालमा केही वर्ष यता धान र चामलको आयात घट्दै गएको सरकारी तथ्याङ्कले देखाउँछ । तीन वर्षयता धान र चामलको आयात घट्दै गएको सरकारी तथ्याङ्क छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०–०८१ मा ९० हजार मेट्रिक टन चामल आयात भएको छ । यसका लागि १० अर्ब १७ करोड रुपैयाँ खर्च भएको छ ।

आर्थिक वर्ष २०७९–०८० मा २ लाख ३५ हजार मेट्रिक टन चामल आयात भएको थियो । यो वर्ष १६ अर्ब ६६ करोड रुपैयाँ चामल आयातमा खर्च भएको विभागको तथ्याङ्क छ ।

त्यसको अघिल्लो आर्थिक वर्ष ५ लाख ८३ हजार मेट्रिक टन चामल आयात भएको थियो । यसबापत ३१ अर्ब ४५ करोड रुपैयाँ बाहिरिएको थियो ।

नेपालमा केही वर्ष यता धान आयात पनि घटेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०–८१ मा ३ लाख १९ हजार मेट्रिक टन धान आयात हुँदा १२ अर्ब ५ करोड रुपैयाँ खर्च भएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७९–८० मा ५ लाख ५५ हजार मेट्रिक टन धान आयात भएको थियो, जसका लागि १९ अर्ब ९९ करोड रुपैयाँ खर्च भएको थियो ।

आर्थिक वर्ष २०७८–७९ मा ५ लाख ४५ हजार मेट्रिक टन धान आयात हुँदा १६ अर्ब १२ करोड रुपैयाँ खर्च भएको थियो ।

धान र चामल आयातमा गिरावट आउनु विभिन्न पक्ष हुन सक्ने विज्ञ बताउँछन् । तथ्याङ्कमा गडबडी हुन सक्ने, नेपालको उत्पादन वृद्धि, भात मात्रै नखाएर अन्य खाद्यान्न उपभोग बढेको जस्ता कारणले पनि धान र चामल आयात घटेको हुन सक्ने उनीहरूको अनुमान छ ।

त्यस्तै, वैदेशिक रोजगारी वा अध्ययनका लागि विदेश जाने नेपालीको संख्या बढ्दा पनि खाद्यान्नको आयात घट्ने कृषिविज्ञ तथा खानाका लागि खेतीपातीका अभियन्ता डक्टर कृष्णप्रसाद पौडेलको अनुमान छ ।

आर्थिक वर्ष २०७९–०८० को तुलनामा आर्थिक वर्ष २०८०–०८१ मा धानको क्षेत्रफल घटे पनि उत्पादन भने वृद्धि भएको सरकारी तथ्याङ्क छ ।

आर्थिक २०८०–०८१ मा धानको कुल उत्पादन अघिल्लो आर्थिक वर्षको तुलनामा ४.३३ प्रतिशतले वृद्धि भएको हो ।

गत वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन र त्यसको अघिल्लो आर्थिक वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान फलेको थियो ।


-रातोपाटीमा रहेको यो सामग्री सम्पादन गरेर प्रकाशन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer