बिर्तामोड, भदौ १२ । पछिल्लो समय बिर्तामोडमा ठगी गर्दै बेपत्ता हुनेको संख्या बढ्दै गएको छ । बजाज अटो र स्कोडा कारको डिलर खोलेका हलेसी ट्रेड लिंकका प्रोप्राइटर चूडामणि पौडेल पनि बेपत्ता छन् ।
साउन २० गतेदेखि उनी अचानक परिवारसहित बेपत्ता भएका हुन् । बिर्तामोडमा प्रायः सबैले चिनेका पौडेल व्यावसायिक, सामाजिक र कलाकारिताको आडमा धेरैलाई ठगी गर्न सफल भए ।
त्यस्तै, करिब दुई अर्ब रकम ठगी गरी नरेन्द्र मैनाली पनि बेपत्ता भएको महिनौँ भयो । जसका कारण बिएन्डसी अस्पतालका संस्थापक महेन्द्र प्रसाईंले झुन्डिएर आत्महत्या गर्नुपर्यो ।
ऋण र हाइड्रोपावर कम्पनीमा लगानी गरी करिब ६ करोड रुपैयाँ डुबाएपछि त्यही पीरले प्रसाईंले मैनालीको घरमै गएर भदौ ७ गते आत्महत्या गरेको खुलेको छ ।
प्रसाईंसँगै बिर्तामोड र आसपासका अन्य व्यवसायीको समेत दुई अर्ब रुपैयाँभन्दा बढी रकम लिएर फरार मैनाली काठमाडौँमा लुकेर बसेको आशंका गरिएको छ ।
त्यस्तै, भद्रपुर रोडमा ग्लोबल बुक्स एन्ड स्टेशनरी सञ्चालन गर्दै आएका नरेश शर्मा र हेयर एन्ड डर्मा केयर (कपाल उमार्ने) अस्पतालका सञ्चालक मनोराम चिमरिया करोडौँ रकम अपचलन गरेर भागेको पीडितहरुले बताएका छन् ।
शर्माले व्यवसायीकै करोडौँ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ भने चिमरियाले धेरैजसो मिटरब्याज र वित्तीय संस्थाहरुबाट करोडौँ रकम लिएको बुझिएको छ ।
शर्मा भारतको राजस्थानतिर भागेको आशंका गरिएको छ । आर्थिक कारोबार बिग्रिएपछि उनीहरु सम्पर्कविहीन छन् ।
त्यस्तै, बिर्तामोड–२ चैतुबारी बजारमा पूजा सामग्रीको पसल सञ्चालन गर्दै आएका ३३ वर्षीय घनश्याम पौडेल करोडौँ रकम ठगेर सम्पर्कविहीन भएको करिब एक वर्ष भइसक्यो ।
पौडेल स्थानीयहरुको पाँच करोड रुपैयाँभन्दा बढी रकम ठगेर सम्पर्कबाहिर छन् । पौडेलविरुद्ध पीडितहरुले मुद्दा दायर गरेका छन् । तर पनि उनी एक वर्षयता भेटिएका छैनन् ।
५३ जना पीडितहरुले आफूहरुको तीन करोड ७१ लाख रुपैयाँ ठगी गरेको भन्दै पौडेलले लगेको रकमको सूची नै सार्वजनिक गरेका छन् ।
त्यस्तै, बिर्तामोड–५ मा व्यवसाय गरेर बसेका पंकज अग्रवाल पनि करोडौँ रुपैयाँ ठगेर फरार छन् । साविक मेचीका चार जिल्लामा उनले चामलको व्यापार गरिरहेका थिए ।
बिर्तामोड–४ का व्यवसायी अनिल अग्रवाल रिङ्कु पनि विभिन्न सहकारी, व्यवसायी तथा आफन्तको १० करोड रुपैयाँभन्दा बढी लिएर परिवारसहित बेपत्ता भएको वर्षौं भइसक्यो ।
यी बाहिर आएका ठुला ठगीका केही घटना मात्र हुन् । त्यसबाहेक बिर्तामोडमा अन्य धेरै ठगीका घटना भएका छन् । जुन सार्वजनिक भएको छैन । मिटरब्याजमा लगानी गर्ने अधिकांशको रकम डुबेको प्रहरीले जनाएको छ ।