बिर्तामोड, भदौ २५ । झापाको मेचीनगरबाट जंगली हात्तीको अंगसहित एकजना पकाउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर-९ का खगेन्द्र चापागाईं छन् ।
संरक्षित वन्यजन्तु हात्तीको अंगसहित उनलाई आज लामो समयको सुराकपश्चात डिभिजन वन कार्यालय झापा, सबडिभिजन वन कार्यालय धाइजन र धुलाबारी प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।
डिभिजन वन कार्यालय झापाका सिनियर वन अधिकृत जीवन पाठकका अनुसार चापागाईंका साथबाट ८ केजी बङ्गारा, दाँत, पुच्छर, खुर, नंग्रालगायतका शरीरका विभिन्न अंग बरामद गरिएको छ ।
उनले भण्डारण गरेर राखेको कोठाबाट अंगहरू वन कर्मचारी र प्रहरीले बरामद गरेका थिए । चापागाईंले लामो समयदेखि विदेश जाने प्रक्रियामा रहेका युवालाई महँगोमा औषधिको रूपमा उक्त अंग मिश्रित सामग्री बेच्ने गरेको खुल्न आएको छ ।
विदेश जाने प्रक्रियामा मेडिकल गर्दा छातीमा दाग देखिएका युवालाई दाग हटाउनका लागि मोटो रकम लिएर औषधिको रुपमा बिक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
पक्राउ परेका चापागाईंसहित उनका बुवा र बाजे जडीबुट्टीको काम गर्दै आएको प्रहरीले जनाएको छ । हात्तीका अंगलाई धुलो बनाएर अन्य औषधिमा मिसाएर उनले बेच्ने गरेको पाइएको छ ।
चापागाईंलाई डिभिजन वन कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको बताइएको छ । झापामा वन्यजन्तुको अंगसहित व्यक्ति पक्राउ गरेको यो घटना अहिलेसम्मकै ठुलो मानिएको छ ।