बिर्तामोड, असोज ७ । झापा शिवसताक्षी-३ को उन्नति बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका सेयर सदस्य तथा बचतकर्तालाई उजुरी दिन प्रहरीले सार्वजनिक सूचना निकालेको छ ।
सहकारीका अध्यक्ष सुमन खनालका विरुद्धमा पीडित नन्दप्रसाद सुवेदीसहित २० जना बचतकर्ताहरूले रकम हिनामिना गरी ठगी गरेको भन्दै उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाले शनिबार सार्वजनिक सूचना जारी गर्दै उक्त सहकारीबाट ठगीमा परेका अन्य सेयरधनी तथा बचतकर्ताहरू भए सहकारीमा बचत गरेको पासबुक, नागरिकताको प्रतिलिपिसमेत कागजातहरू लिएर प्रहरी कार्यालयमा उपस्थित हुन आग्रह गरेको हो ।
प्रहरी कार्यालय झापाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जारी गरेको सूचनामा शिवसताक्षी नगरपालिकाको कार्यालय, सहकारीको कार्यालयमा समेत टाँस गरिएको छ ।
सहकारीका अध्यक्ष खनालले बचतकर्ता र सेयर सदस्यहरूको एक करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ ठगी गरेको शिवसताक्षी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भाष्कर न्यौपानेको नेतृत्वमा गठित समितिको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा भएजति आफूले ठगी नगरेको अध्यक्ष खनाल बताउँछन् । ‘त्यहाँ भनेजस्तो ठगी भएको छैन । ऋण लगानी भएको छ । ८०–८२ लाख जति रकम अहिले अभाव भएको हो । ऋण उठाएर तिर्न सक्छौँ,’ उनले भने ।
ठगीमा संलग्न खनालका बुबा राधाकृष्ण झापा क्षेत्र नम्बर ४ (१)बाट निर्वाचित भएका थिए । २०७९ साल मंसिरमा निर्वाचन हुनुपूर्व खनालले आफ्नो छोराले गरेको अनियमितताको जिम्मा लिँदै रकम फिर्ता गर्नका लागि आफूलाई जिताउन आग्रह गरेका थिए । तर, निर्वाचन जितेको यतिका समय बितिसक्दा पनि रकम फिर्ता नपाएपछि उजुरी दिएको एक पीडितले बताए ।
यसैगरी २०८० साल फागुन २४ गते राधाकृष्णका छोरा खनाल आफैँले एक तमसुक बनाएर २ महिनाभित्र सबै रकम र हरहिसाब बुझाउन सही छाप गरेको पाइएको छ ।
केही महिनाअगाडि स्थानीयले खनाललाई इलाका प्रहरी कार्यालय झिलभिलेमा झिकाएर केरकार गरेका थिए । त्यसबेला खनालले आफूले रकम चलाएको र कोही पनि अरू संलग्न नभएको बताएका थिए ।
सहकारीको संस्थापक अध्यक्ष पनि उनै खनाल हुन् । उनले आर्थिक वर्ष २०७८/७९ को अन्त्यमा १ करोड ४४ लाख ८० हजार ३९४ रुपैयाँ र २०७९/८० को अन्त्यसम्ममा त्यो रकम बढेर १ करोड ६२ लाख ६२ हजार ३६९ रुपैयाँ अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ ।
यद्यपि अध्यक्ष खनालले आफ्नोे शेयरमा १ लाख १० हजार र बचत खातामा २३ लाख २२ हजार ५९९ रुपैयाँ गरी जम्मा २४ लाख २५ हजार ५९९ रुपैयाँ राखेको देखिएको र उक्त रकम कट्टा गर्दा उनले सहकारीलाई अझै १ करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ तिर्नुपर्ने देखिएको प्रतिवेदनले ठहर गरेको छ ।
-रातापाटीबाट सम्पादन गरी साभार गरिएको