बिर्तामोड, असोज २८ । साविक मेची अञ्चलको केन्द्रविन्दुको रुपमा रहेको झापाको बिर्तामोड पूर्वी नेपालमा विकासको तीव्र गति समातेको शहर हो ।
२०२७ सालदेखि बिर्तामोडमा बस्दै आएका हर्कलाल गिरीका अनुसार सुरक्षा र सहजताको हिसाबले बिर्तामोडमा मान्छेहरू बसाइँ सरेर आएका हुन् ।
महेन्द्र राजमार्ग बनेपछि बिर्तामोडको जनघनत्व बढ्दो क्रममा रहेको उनी बताउँछन् । उनका अनुसार माओवादी आन्दोलनका बेला बिर्तामोड बसाइँ सरेर आउने धेरै थिए ।
‘तुलनात्मक रूपमा सुरक्षित, भारतको बंगाल र बिहार १७–१८ किलोमिटरको दूरीमा छ, त्यसबेला सुरक्षा खोज्दै यहाँ धेरै बसाइँ सरे’ उनी भन्छन्, ‘भौगोलिक हिसाबले पनि सुरक्षित थियो, बाढीपहिरो र डुबानको जोखिम छैन ।’
तत्कालीन अनारमनी गाउँ पञ्चायतमा पर्ने बिर्तामोडका आदिवासी थारू, धिमाल र राजवंशी हुन् । राजमार्ग विस्तार भएपछि अहिले सबै समुदाय यहाँ बसेका छन् ।
पूर्वाधारको विकास भएपछि पूर्वी पहाड हुँदै भारतको आसाम र सिक्किमबाट पनि नेपालीहरू बसाइँ सरेर बिर्तामोड आएको उनले देखेका छन् ।
२०७८ सालको जनगणना अनुसार बिर्तामोडको घरधुरी संख्या २९ हजार ८५२ छ । अघिल्लो जनगणनाको तुलनामा यो संख्या १० हजारले बढी हो । २०६८ सालको जनगणनामा बिर्तामोडमा घरपरिवार संख्या १९ हजार ११८ थियो ।
२०७१ सालमा तत्कालीन अनारमनी, चारपाने र गरामनी गाविसलाई जोडेर बिर्तामोड नगरपालिका घोषणा गरिएको थियो । त्यसअघि भने अनारमनी गाउँपञ्चायतको एउटा बजार थियो बिर्तामोड । बिर्तामोडको शहरीकरण बढ्दै गर्दा पुरानो बजार भद्रपुर, झापा, धुलाबारी गौरादह पछि परेका छन् ।
पूर्वी पहाडी जिल्लाको लाइफलाइनको रूपमा रहेको मेची राजमार्ग बनेपछि बिर्तामोड बसोबास र व्यापार झन् फस्टाएको छ । बिएन्डसी मेडिकल कलेजले पनि बिर्तामोडको बजारलाई चलायमान बनाएको छ ।
सदरमुकाम भद्रपुर र काँकरभिट्टा नाका नजिक भएका कारण तीव्र रूपमा शहरीकरण भएको बिर्तामोड शिक्षा र स्वास्थ्य केन्द्रको रूपमा विकास हुने क्रममा छ ।
मानवशास्त्री डिल्ली प्रसाईंका विचारमा मेची करिडोरसँग जोडिएको ताप्लेजुङ, पाँचथर र इलामका बासिन्दाको पहिलो रोजाइको गन्तव्य बिर्तामोड हो ।
‘पूर्वी पहाडी जिल्लाबाट अध्ययन, व्यापार र रोजगारीका लागि बिर्तामोड आउने क्रम बढ्दो छ’ उनी भन्छन्, ‘मेची करिडोरका लागि बिर्तामोड पहिलो गन्तव्य हो ।’
अहिलेको विकसित बिर्तामोडको सुरुवातकर्ता तत्कालीन बिर्ता मालअड्डाका हाकिम भूपालमानसिंह कार्की हुन् । विराटनगरका बासिन्दा कार्कीले करिब १४ वर्ष (१९९३–२००७) सम्म बिर्तामाल अड्डाको हाकिम भएर काम गरेका थिए । त्यसबेला उनी राज्यका लागि कर उठाउँथे ।