बिर्तामोड, मंसिर ९ । नेपालमा भन्दा भारतमा सस्तो भएका कारण तस्करी बढेपछि सरकारले बाध्य भएर सुनको भन्सार दर घटाएको छ ।
भारतमा प्रतितोला २० हजार रुपैयाँ हाराहारी सस्तो भएर नेपाली बजारमा तस्करीको सुनले राज गरेपछि भन्सार दर घटाइएको हो ।
अर्थ मन्त्रालय स्रोतका अनुसार सुनको भन्सार दर २० बाट १० प्रतिशतमा झारिएको छ । सुनको भन्सार दर गत आर्थिक वर्षको भन्दा पनि तल झारेको हो । त्यस्तै चाँदीको भन्सार दर १५ बाट १० प्रतिशतमा झारिएको छ ।
तत्कालीन अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते बजेटमार्फत सुनको भन्सार १५ बाट २० प्रतिशत पुर्याएका थिए । भन्सार दर बढाइएको विरोधमा सुनचाँदी व्यवासायीले सडकमा ओर्लिएर विरोध गरेका थिए ।
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भने भन्सार दर घटाएकी थिइन् । जसले गर्दा नेपालमाभन्दा भारतमा सुन प्रतितोला २० हजार रुपैयाँ हाराहारी सस्तिन पुगेको थियो । यसपछि नेपालमा भारतबाट सुनको तस्करी बढेको थियो ।
व्यवसायीहरुले दैनिक औसतमा २० किलो सुन खपत हुने बताउँदै आएकामा यो आर्थिक वर्ष वैधानिक मार्गबाट अहिलेसम्म १३२ किलो मात्र आयात भएको छ ।
बजारमा तस्करीको सुनले राज गरेका कारण वाणिज्य बैंकहरुले आयात ठुलो परिमाणमा घटाएका हुन् । उनीहरुले तिहारपछि सुन नै आयात गरेका छैनन् ।