बिर्तामोड, मंसिर ११ । झापाको कनकाईमा गौहत्यामा संलग्न भएको आरोपमा एकजनालाई झापा प्रहरीले पक्राउ गरेको छ ।
कनकाई-३ टप्पुबस्ती पूर्वमा मंगलबार गाई काटिएको हो । गौहत्यामा संलग्न बुदोना आलमलाई पक्राउ गरिएको हो । बाह्रदशीका उनी त्यहाँ भाडामा बस्दै आएको जनाइएको छ ।
घटनामा अरुको पनि संलग्नता हुनसक्ने भएकाले प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
स्थानीय लीला संग्रौलाको इँटाको गारो र टिनको छानो भएको घर भाडा लिएर बसेका आलमले आफू बसेको घरमा लगेर गाई काटेका हुन् ।
उनले हरिकुल स्कुलनजिकबाट दुर्गा सिलवालको लैनो गाई राति चोरेर लगेको बताइएको छ । उनले राति नै गाई काटेको अनुमान गरिएको छ । केही महिनाअघि दमकमा गर्भिनी गाई हत्या गरिएको थियो ।
घटनापछि गाई काट्नेलाई पक्राउ गरी कारबाहीको माग जारी विरोध प्रदर्शन अहिले भर्खरै रोकिएको छ । प्रदर्शनकारीले कोसटहोम क्षेत्रको पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनाएका थिए ।