
मेचीनगर, मंसिर २४ । झापाको बुद्धशान्तिमा कुखुराको खोरमाथि बेवारिसे अवस्थामा नवजात शिशु भेटिएको छ ।


हिजो दिउँसो अन्दाजी ३ः३० बजे बुद्धशान्ति-४ धर्ममार्गस्थित किरण मगरको खाली घरमा रहेको कुखुराको खोरमाथि नवजात शिशु भेटिएको हो ।


दुई दिनको जस्तो देखिने जीवित नवजात शिशु (छोरी) तन्ना, सुरुवाल, भेलभेटको तौलीमा पोको पारेर छोडेर गएको अबस्थामा भेटिएको थियो ।


सोही ठाउँ बस्ने ३५ वर्षीया मिना लिम्बूले घाँस काट्न जाँदा शिशु भेट्टाएकी थिइन् । उनले आफ्नो घरमा ल्याएर राखेको भनी अस्थाई प्रहरी चौकी मंगलबारेमा जानकारी गराएकी थिइन् ।
नवजात शिशुलाई वडा अध्यक्ष शेरबहादुर राईलाई संरक्षणको लागि जिम्मा लगाई लिम्बू साथमा प्रादेशिक अस्पताल भद्रपुर पठाएको र शिशुको अबस्था सामान्य रहेको जनाइएको छ ।


यसअघि गत कात्तिक २९ गते मेचीनगरको निन्दा खोलानजिकै घारीमा सालनालसहितको नवजात शिशु भेटिएको थियो । पाँच दिनपछि शिशुको निधन भएको थियो ।
