२०८२ असार २५ बुधबार
Jhapa Today
Adv top

बिर्तामोडका पूर्व नगरप्रमुखलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति


फाइल तस्बिर

बिर्तामोड, मंसिर २५ । घरेलु कामदारको रुपमा राखिएकी किशोरीलाई पटकपटक जबरजस्ती करणी गरेको आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत झापाले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न तत्काललाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले झापा टुडेलाई बताए ।

यो अवधिमा प्रहरीले प्रारम्भिक अनुसन्धान र सोधपुछ गर्नेछ । त्यसपछि अनुसन्धानका लागि थप समय हिरासतमा राख्नलाई फेरि समय माग्नेछ ।

अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘यो गम्भीर विषय भएकाले चार दिनमा अनुसन्धान सकिने विषय नै होइन, त्यसैले फेरि म्याद माग्छौँ ।’ इलाका प्रहरी कार्यालय अनारमनीले शिवाकोटीलाई सोमबार अपराह्न पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार पीडित बालिकाको बुबा छैनन् । आमा भारतको आसाममा बस्छिन् । घरको काम गरिदिने र पढाइदिने शर्तमा शिवाकोटीले उनलाई घरेलु कामदार राखेका थिए ।

तर, त्यसको बहानामा उनले जबरजस्ती करणी गरेको आरोप छ । बालिकाले सुरुमा इलाका प्रहरी कार्यालय काँकरभिट्टास्थित महिला सेलका अधिकारीहरुलाई घटनाबारे सुनाएकी थिइन् ।

भारत जान लागेका बेला उद्दार गरिएकी उनले जबरजस्ती करणीबारे बताएपछि काँकरभिट्टा प्रहरीले इलाका प्रहरी कार्यालय अनारमनीमा पठाइदिएको थियो ।

अनारमनीमा पनि उनले त्यहीअनुसारको बयान दिएपछि उनलाई पक्राउ गरिएको थियो । शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

Adv footer