बिर्तामोड, पुस ६ । झापाको बुद्धशान्ति गाउँपालिकाबाट तीन साताअघि बेपत्ता भएका दुई किशोरीहरू अझै नभेटिएको परिवारले बताएका छन् ।
२० दिनअघि घरबाटै हराएका ती किशोरीहरू अहिलेसम्म परिवारको सम्पर्कमा नआएका हुन् । बुद्धशान्ति–२ की १३ वर्षीया कामना रणपहेँली र वडा नम्बर १ की १४ वर्षीया गृष्मा नेपाली बेपत्ता भएका छन् ।
कामनाका बुबा सनमान रणपहेँली र गृष्माका आमा सङ्गीता नेपालीका अनुसार उनीहरूलाई सबै ठाउँमा खोजतलास गरिए पनि कुनै जानकारी पाउन सकिएको छैन ।
स्थानीय प्रहरी कार्यालय, माइती नेपालमा समयमै खबर गरिएको र त्यहाँबाट पनि अहिलेसम्म कुनै खबर नआएको अभिभावकद्वयले बताए ।
सम्पर्कविहीन किशोरीहरूको बारेमा बुधबारे प्रहरी चौकीमा बुझ्दा पहिले पनि स्थानीय मेलाबाट हराएर केही दिनपछि प्रहरीले नै खोजेर ती किशोरीहरूलाई अभिभावकको जिम्मा लगाएको थियो ।