बिर्तामोड, पुस २५ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्ना समर्थक परिचालन गरेर व्यवसायी पवन कुमार गोल्यान र दीपेन्द्र अग्रवाललाई धम्की दिएको आरोप अस्वीकार गरेका छन् ।
झापामा बस्दै आएका हरिचन्द्र फुयललाई प्रयोग गरेर व्यापारी र राष्ट्र बैंकका अधिकृतहरूलाई धम्क्याएको आरोपबारे उनले भनेका छन्, ‘दिपेन्द्र अग्रवाल र पवनकुमार गोल्यानलाई कुनै किसिमको धम्की दिएको छैन, आपराधिक काम गर्न कसैलाई निर्देशन र रकम दिएको छैन ।’
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसन्धान अधिकृतहरूसँगको बयानमा उनले सो कुरा अस्वीकार गरेका हुन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई धम्की नदिएको र धम्क्याउन कसैलाई निर्देशन नदिएको उनले जिकिर गरेका छन् ।
प्रसाईंले हरिचन्द्र फुयललाई प्रयोग गरेर भारतीय गुण्डा नाइके लरेन्स बिस्नोइको नाम लिएर धम्की दिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । तर, प्रसाईंले हरिचन्द्र फुयलसँग आफ्नो कुनै कुराकानी नभएको बयान दिएका छन् ।
व्यापारी र राष्ट्र बैंकका गभर्नरलाई धम्क्याएबापत फुयललाई रकम दिएको कुरा पनि प्रसाईंले अस्वीकार गरेका छन् ।
Comments are closed