२०८१ पुष २६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कचनकवलका लेखा अधिकृतलाई धम्क्याउने शिक्षकसहित तीनजनाविरुद्ध उजुरी


भद्रपुर, पुस २५ । झापाको कचनकवल गाउँपालिकाका लेखा अधिकृत गोविन्द रिजालले धम्कीपूर्ण अभिव्यक्ति तथा चरित्रहत्या गर्ने शिक्षक रत्नकुमार बुढाथोकीसहित अन्य दुईजनाविरुद्ध जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गराएका छन् ।

जथाभावी अभिव्यक्ति दिएर आफ्नो नाम, पद र प्रतिष्ठामा आँच पुर्‍याइएको, धम्कीपूर्ण वातावरण सिर्जना गरिएको र कार्यक्षेत्रमा मानसिक दबाब पारेको भन्दै उनले उजुरी दिएका हुन् ।

रिजालले पेश गरेको निवेदनमा लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक रत्नकुमार बुढाथोकीले फेसबुकमा लेखा अधिकृतलाई लक्षित गर्दै धम्कीपूर्ण शैलीमा लेखेका अभिव्यक्तिहरूलाई मुख्य प्रमाणका रूपमा समावेश गरिएको छ ।

बुढाथोकीले ‘भोलि शिक्षकको तलब आएन भने पर्सि सुरक्षाकर्मी अगाडि पछाडि राखेर बस्नु कचनकवलको लेखा अधिकृतज्यू’ जस्ता कयौँ धम्कीपूर्ण अभिव्यक्तिहरू सार्वजनिक गरेका थिए ।

साथै, उनले लेखा अधिकृतको प्रतिष्ठामा आँच पुर्‍याउने नियतले अन्य व्यक्तिहरूसँग मिलेर आधारहीन आरोप लगाएको उजुरीमा उल्लेख छ ।

कर्मचारीविरुद्ध उनीहरुले बिनाप्रमाण एकोहोरो आरोप लगाउँदै कर्मचारीको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको र कार्यालयको वातावरण असहज बनाएको निवेदनमा उल्लेख गरिएको छ ।

लेखा अधिकृत रिजालले त्रास र धम्कीका कारण कार्यालयको काम गर्न असहज परिस्थिति सिर्जना भएको उल्लेख गर्दै दोषीहरूमाथि कानुनी कारबाही गर्न माग गरेका छन् । उनले आफ्नो व्यक्तिगत र पेशागत सुरक्षाको सुनिश्चितता गरिदिन समेत अनुरोध गरेका छन् ।

यसअघि, गाउँपालिकाका पदाधिकारीहरूको पहलमा बुढाथोकीले सार्वजनिक रूपमा माफी मागेका थिए । उनले सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्तिबाट लेखा अधिकृतको प्रतिष्ठामा असर परेको स्वीकार गर्दै क्षमायाचनासहित फेसबुकमा पोस्ट गरेका थिए ।

तर, रिजालले घटनालाई गम्भीर रूपमा लिँदै कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् ।

लेखा अधिकृत रिजालले प्राविधिक कारणले शिक्षकहरूको तलब भुक्तानीमा ढिलो भएको प्रस्ट पार्दै आएका छन् । उनले भने ‘सामाजिक सञ्जालको दुरुपयोग गरी कसैको प्रतिष्ठामा आँच पुर्याउनु अपराध हो । यसले व्यक्तिगत र व्यावसायिक जीवनमा नकारात्मक प्रभाव पारेको छ । कानूनी न्यायका लागि उजुरी दर्ता गरेको छु ।’

Comments are closed

Adv footer