मेचीनगर, पुस २७ । झापाको मेचीनगरमा बालिका दुर्व्यवहारको दुईवटा घटनामा एकजना प्रिन्सिपल र एकजना सवारी साधन चालक पक्राउ परेका छन् ।
मेचीनगर-४ को एक निजी विद्यालयका प्रिन्सिपललाई एसइइ दिन लागेका बालिकामाथि दुव्र्यवहार गरेको अभियोग लागेको छ ।
पीडित बालिकाले घटना सुनाएपछि अभिभावकहरुको उजुरीमा प्रिन्सिपललाई प्रहरीले अनुसन्धानका लागि शुक्रबार नियन्त्रणमा लिएको बुझिएको छ ।
यसैबीच, मेचीनगर-९ मा निर्माणाधीन सडकमा इस्काभेटर चलाउने एकजना चालकलाई पनि अभिभावकहरुको उजुरीका आधारमा प्रहरीले शुक्रबार नै नियन्त्रणमा लिएको छ ।
इस्काभेटर चालकले मध्यराति स्थानीय एक बालिकालाई इस्काभेटर राखिएको स्थानमा बोलाएका थिए । अभिभावकहरु खोज्दै आएपछि बालिकालाई इस्काभेटरमै छाडेर भागेका चालकलाई भोलिपल्ट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
स्रोतका अनुसार बिहीबार राति ११ बजे खुट्टिडाँगी सडक किनारमा पार्किङ गरेर राखिएको इस्काभेटरबाट अभिभावकहरुले १२ वर्षीया बालिकालाई उद्धार गरेका थिए ।
Comments are closed