बिर्तामोड, माघ १ । झापाको अर्जुनधारा-१ मा रहेको हचुमासा सामुदायिक वन उपभोक्ता समूहमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ ।
एकजना उपभोक्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी दिएका हुन् ।
उपभोक्ता समूहमा संकलित काठको लगतको परिमाणको बजारमूल्य अनुसार लेखापरीक्षणमा रकम नभएको, बिल विजकबिना संस्थाका पदाधिकारी एवम सदस्यहरुकहाँ काठ पैठारी भएको कुरा आम उपभोक्ताले थाहा पाएकोले छानबिन र कारबाहीको लागि अख्तियारमा उजुरी परेको हो । उजुरीको दर्ता नम्बर सि ०३८०८० रहेको छ ।
आर्थिक अनियमितता गरेको भन्दै स्थानीय सरकारका जनप्रतिनिधिसमेतले गत पुस ६ गते वन उपभोक्ता समूहको कार्यालयमा तालाबन्दी गरेका थिए ।
यसैबीच, कन्काई सबडिभिजन वन कार्यालय सुरुङ्गाले हचुमासा सामुदायिक वन उपभोक्ता समूहमा भएको सत्यतथ्य खुलाएर पठाइदिन अर्जुनधारा १ नम्बर वडा कार्यालयलाई पत्र पठाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको पत्रबाट व्यहोरा अवगत गरी उक्त उजुरीको सम्बन्धमा के कसो भएको हो ? हचुमासा सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा फर्जी बिल तथा आर्थिक अनियमितता चरम रुपमा रहेको, कार्यालय सचिवसहितले बिलबिना काठ लगेको, बिल गरिसकेको बिलहरुको अर्धकट्टी नै नरहेको सम्बन्धमा के–कसो भएको हो विस्तृत रुपमा छानबिन गरी छानबिन प्रतिवेदन पेश गर्न आग्रह गरिएको छ ।
Comments are closed