बिर्तामोड, माघ १८ । झापाको बिर्तामोडमा आफ्नै नाबालिका छोरीलाई निर्घात पिट्ने बुवालाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै नाबालिका छोरीलाई निर्घात कुटपिट गर्ने बिर्तामोड-९ का अन्दाजी ४५ वर्षका प्रकाश भनिने निरकुमार विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।
साथीसँग घुम्न हिँडेकी भन्दै विष्टले १५ वर्षीया छोरी स्वस्तिकालाई कोठा थुनेर पिलासले टाउको फुटाइदिएका छन् भने भाटाले तिघ्रा, ढाड र हातमा निलडाम हुने गरी निर्घात पिटेका छन् ।
आफू घरबाहिर भएका बेला श्रीमानले छोरीलाई निर्घात कुटपिट गरेपछि प्रहरी बोलाएर पक्राउ गर्न लगाएको विष्टकी श्रीमती रेनुका विष्टले जानकारी दिइन् ।
यसअघि पनि विष्टले पटकपटक छोरीलाई कुटपिट गर्ने गरेको एक छिमेकीले बताए । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
Comments are closed