२०८१ फागुन २८ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा


बिर्तामोड, माघ १८ । झापाको बिर्तामोड घर भएकी गायिका एलिना चौहानले काठमाडौँ जिल्ला अदालतमा शुक्रबार सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् ।

पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए ।

‘अंश हकदाबी भन्दा पनि सम्बन्धविच्छेद भए मात्र पुग्ने भन्दै उहाँले आज फिराद पत्र दायर गर्नुभएको हो’ श्रेष्ठले भने, ‘अब उहाँको पतिको नाममा म्याद जारी हुन्छ । पतिले म्याद बुझेर प्रत्युत्तर दिनुभयो भने सोहीअनुसार प्रक्रिया अघि बढ्छ ।’

उनले अघि भने, ‘यसबीच मिलापत्रको सम्भावना पनि हुन्छ । तर, उहाँहरू यसका लागि तयार हुनुभएन भने सम्बन्धविच्छेदको प्रक्रिया अघि बढ्छ ।’ एलिना र विष्णुबीच बैशाख पहिलो साता विवाह भएको थियो ।

विष्णु भने अहिले अस्ट्रेलियामा छन् । अदालतमा मुद्दा दायर गर्नुअघि एलिना केही दिनदेखि कानुन व्यवसायीसँगको परामर्शमा थिइन् ।

एक कानुन व्यवसायीले केही दिनअघि एलिना आफूकहाँ परामर्शको लागि आएको तर आफूले मुद्दा नहेर्ने जवाफ दिएको बताए । एलिना यतिबेलाकी चर्चित गायिका हुन् ।

उनले वारेस विष्णुप्रसाद खरेलमार्फत मुद्दा दायर गरेकी हुन् । पछिल्लोसमय एलिनाको दाम्पत्य जीवन राम्रो नभएको चर्चा हुँदै आएको थियो ।

एलिनाले जिल्ला अदालतमा पेस गरेको निवेदनमा आफू कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रममा सहभागी हुँदा कहिलेकाहीँ राति अबेरसम्म बस्नुपर्ने हुँदा पतिले विभिन्न शंका–उपशंका गरेको खुलाएकी छन् ।

विवाहपछि आफू अस्ट्रेलियामै पतिसँग गएर बसेको जिकिर गर्दै उनले यस क्रममा सुरुका केही दिन राम्रै भए पनि पछि सम्बन्धमा खटपट आएपछि आफू नेपाल आएर बस्न थालेको जनाएकी छन् ।

पतिसँग भावनात्मक सम्बन्ध राम्रो हुन नसकेकाले कागजी सम्बन्धमा मात्र पति–पत्नी भएर बस्न उचित नरहेको भन्दै एलिनाले सम्बन्धविच्छेदका लागि निवेदन दिएकी हुन् ।

Adv footer