२०८१ माघ २९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

ठेकेदार कम्पनी सम्पर्कविहीन, बिर्तामोड नगर अस्पतालको निर्माण अलपत्र


बिर्तामोड, माघ २८ । ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि बिर्तामोड नगर अस्पतालको भवन निर्माण कार्य अलपत्र परेको छ ।
हस्तान्तरणको समय एक महिना रहँदा अस्पतालको तीन तले भवनको ३५ प्रतिशत मात्र निर्माण हुन सकेको छ । २५ बेडको नगर अस्पताल भवन निर्माण गर्न ठेक्का लागेको भवन अलपत्र बनाएर ठेकेदार सम्पर्कविहीन भएको बताइएको छ ।

दुई महिनादेखि ठेकेदार सम्पर्कबाहिर रहेको बिर्तामोड नगरपालिका स्रोतले जनाएको छ । संघीय सरकारको १५ करोड ३४ हजार ३३६ रुपैयाँको लागतमा बन्ने अस्पताल भवनको काम अहिले अलपत्र बनेको छ ।

२०८० बैशाख ८ गते भवन निर्माणका लागि सम्झौता भएको थियो । सो भवन यसै वर्षको फागुन २६ गते निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर, भवन सम्पन्न गर्ने समय सकिन एक महिना मात्र बाँकी रहँदा ठेकेदार नै सम्पर्कमा आएका छैनन् ।

अस्पतालको सो भवन निर्माणका लागि काठमाडौँको विभास कन्स्ट्रक्सन इन्टरनेसनल कन्सल्टेन्ट एन्ड सप्लायर्स प्रालिले ठेक्का प्राप्त गरेको थियो । प्रालिका ठेकेदार रमेश राई दुई महिनाबाट बिनाजानकारी सम्पर्कविहीन हुँदा भवन अलपत्र परेको हो ।

ठेकेदारलाई सम्पर्कमा नआएपछि बिर्तामोडका विभिन्न व्यवसायीको समेत लाखौँ रकम डुबेको छ । उनले रड सिमेन्ट इटा ग्रिल मोटर लगायतको रकम भुक्तानी नगर्दा ४० लाखभन्दा बढी रकम डुबेको स्थानीय व्यवसायीको भनाइ छ ।

बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेका अनुसार गुणस्तरीय सेवा प्रदान गर्नका लागि नगरपालिकाले संघीय सरकारसँग अनुरोध गरी पाएको बजेट पनि ठेकेदारकै कारण अलपत्र पर्दा जनतामा निराशा पैदा भएको गुनासो गरेका छन् ।

प्रवक्ता पाण्डेका अनुसार समयमै भवन निर्माण सम्पन्न गरी यसै आर्थिक वर्षदेखि नै सेवा सुरु गर्ने नगरपालिकाले लक्ष्य राखेको थियो ।

Comments are closed

Adv footer