
बिर्तामोड, फागुन १९ । प्रथम चारपाने युनाइटेड भेट्रान कप नकआउट फुटबल प्रतियोगितामा झिलझिले र पूर्वेली भेट्रान एफसी फाइनलमा प्रवेश गरेका छन् ।

झापा बिर्तामोड–२ बेलडाँगीस्थित वीर अमरसिंह माविको खेलमैदानमा आज भएको सेमिफाइनल खेलमा झिलझिलेले आयोजक रातोे र पूर्वेलीले उर्लाबारीलाई हराउँदै उपाधि नजिक पुगेका हुन् ।

झिलझिलेका लागि दिनेश राईले ह्याट्रिक गरे । उनले खेलको ३० औँ, ५१ औँ र ६० औँ मिनेटमा गोल गरे ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम झिलझिलेका ३ गोलकर्ता राई भए । उनले नगद एक हजार १०० र ट्रफी पाए ।

त्यस्तै, आजै भएको अन्तिम सेमिफाइनल खेलमा पूर्वेलीका खेमराज पोखरेल नायक बने । उनले खेलको सातौँ र ३४ औँ मिनेटमा गोल गरे ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम पूर्वेलीका २ गोलकर्ता पोखरेल भए । उनले नगद एक हजार १०० र ट्रफी पाए ।
फागुन २१ गते हुने फाइनल खेलको विजेताले नगद ५१ हजार १५१, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ३१ हजार १३१ ट्रफी र मेडल प्राप्त गर्ने क्लबका सचिव मोहन कोइरालाले बताए ।
त्यस्तै, प्लेयर अफ द म्याचले एक हजार १०० र ट्रफी पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार र ट्रफी पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड र उच्च गोलकर्ताले नगद २ हजार र ट्रफी पाउने उपाध्यक्ष प्रनेश श्रेष्ठले बताए ।





