२०८२ बैशाख ३ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

चारपाने युनाइटेड भेट्रान कपको उपाधि झिलझिलेलाई


बिर्तामोड, फागुन २१ । प्रथम चारपाने युनाइटेड भेट्रान कप नकआउट फुटबल प्रतियोगिताको उपाधि झिलझिले भेट्रान एफसीले जितेको छ ।

झापा बिर्तामोड–२ बेलडाँगीस्थित वीर अमरसिंह माविको खेलमैदानमा आज भएको फाइनल खेलमा पूर्वेली भेट्रान एफसीलाई टाइब्रेकरमा हराउँदै झिलझिलेले उपाधि जितेको हो ।

निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । यसअघि खेलको ३९ औँ मिनेटमा झिलझिलेका दिनेश राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ५१ औँ मिनेटमा पूर्वेलीका खेमराज पोखरेलले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । टाइब्रेकरमा झिलझिलेले पूर्वेलीलाई ५-४ गोल अन्तरले हराएको हो ।

जितसँगै विजेता झिलझिलेले नगद ५१ हजार १५१, ट्रफी र मेडल प्राप्त गर्यो । उपविजेतामा सीमित पूर्वेलीले नगद ३१ हजार १३१ ट्रफी र मेडलमा चित्त बुझायो ।

फाइनल खेलको प्लेयर अफ द म्याच झिलझिलेका डिगबहादुर डाँगी भए । उनले नगद एक हजार १०० र ट्रफी पाए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पूर्वेलीका सन्तोष राई भए । उनले नगद ५ हजार र ट्रफी पाए ।

त्यस्तै, उत्कृष्ट गोलकिपर झिलझिलेका रुपककुमार तामाङ, उत्कृष्ट डिफेन्डर पूर्वेलीका मोहन गुरुङ, उत्कृष्ट फरवार्ड पूर्वेलीका खेमराज पोखरेल र उच्च गोलकर्ता झिलझिलेका दिनेश राई भए । उनीहरुले नगद २ हजार र ट्रफी पाए ।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, विशेष अतिथि एक्सपर्ट एजुकेसनका सञ्चालक खेम संग्रौला, बिर्तामोड वडा नम्बर २ का वडा अध्यक्ष किशोर पौडेल, आयोजक क्लबका अध्यक्ष माधव खरेल लगायत क्लबका पदाधिकारी तथा सदस्यले पुरस्कार वितरण गरेका थिए ।

यसैबीच, फाइनल खेलमा प्रमुख अतिथि गुरुङलाई आयोजक चारपाने युनाइटेड भेट्रान क्लबले सम्मान गरेको छ । फुटबल खेलको विकास र प्रवर्धनमा विशेष योगदान पुर्‍याएकोमा उनलाई सम्मान गरिएको हो ।

Adv footer