
मेचीनगर, फागुन २९ । अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को नतिजा उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ ।
लिग उपविजेता मछिन्द्र विरुद्ध ४–३ को गोल अन्तरको रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार हुने फाइनल खेलमा आयोजक काँकरभट्टिा फुटबल ट्रेनिङ सेन्टरसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
खेलको ३० औँ मिनेटमा मछिन्द्रले अग्रता लिएको थियो । पेनाल्टी एरियामा क्लियर हुन नसकेको बललाई विदेशी खेलाडी युसुफ मलिकले गोल गरेका थिए । ४३ औँ मिनेटमा मछिन्द्रले अग्रता दोब्बर बनायो । आदित्य शाक्यको क्रस पासमा एन्द्रेस नियाले गोल गरे ।
त्यसको १ मिनेट बित्न नपाउँदै युसुफ मलिकले मछिन्द्रका लागि अर्काे गोल थपे । मैदानको मध्य भागबाट अगाडि बढाएको बललाई उनले सुन्दर गोल गरे पनि मछिन्द्रको जितका लागि यो स्कोर पर्याप्त बन्न सकेन ।
खेलको पहिलो हाफसम्म तीन गोलले पछाडि परेको चर्च ब्वाइजका लागि खेलको ६१ औँ मिनेट विदेशी खेलाडी अबयोमी फकुन्लेले पहिलो गोल फर्काए । मछिन्द्रका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई उनले एकल प्रयासमा गोल गरे ।
खेलको ६९ औँ मिनेटमा फकुन्लेले व्यक्तिगत दोस्रो गोल गरे । मछिन्द्रका डिफेन्डरको तालमेल नमिल्दा दोस्रो बार च्यापेर उनले गरेको सटिक प्रहार गोलमा परिणत भएको थियो । खेलको ७८ औँ मिनेटमा रिचार्ड विल्सनले गोल गर्दै स्कोर ३–३ को बराबरीमा ल्याए ।
विदेशी खेलाडी फकुन्लेको क्रस पासमा मछिन्द्रका दुईजना डिफेन्डरलाई बिट गर्दै गोल गरेका थिए । खेलको ८७ औँ मिनेटमा फकुन्लेले ह्याट्रिक पूरा गरे । मछिन्द्रका डिफेन्डर अघि बढेको मौकाको फाइदा लिँदै उनले प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरे भने आफ्नो टिमलाई फाइनलको यात्रा समेत तय गराए ।
खेलको १५ औँ मिनेटमा चर्च ब्वाइजका जय गुरुङको क्रस पासमा विदेशी खेलाडी रिचार्ड विल्सनको हेडर मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले पञ्च गर्दै बचाए । खेलको ५२ औँ मिनेटमा समिर तामाङको प्रहारलाई गोलकिपरले बचाए ।
खेलको नवौँँ मिनेटमा मच्छिन्द्रका युसुफ मलिकले फर्स्टबारमा प्रहार गरेको बल गोलकिपरले बचाउँदै कर्नर बनाए । खेलको २० औँ मिनेटमा १८ यार्डबाट पाएको फ्रिकिकमा मोहित गुरुङको प्रहारले जाली चुम्न सकेन । खेलको ७२ औँ मिनेटमा विदेशी खेलाडी एन्द्रेस नियाको प्रहार गोलकिपर टिकेन्द्र थापाले उत्कृष्ट बचाउ गरे ।
खेलको प्लेयर अफ द म्याच ह्याट्रिक गरेका खेलाडी अबयोमी फकुन्ले भए । उनले नगद ११ हजार र ट्रफी ।
खेलपछि चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो फुटबलको २५ वर्षको करियरमा यस्तो किसिमको पहिलो कमब्याक खेल भएको बताए । उनले आफ्ना खेलाडी निरन्तरको खेलले थकित भएको र दोस्रो हाफपछि रणनीति परिवर्तन गरेकाले छिट्टै कमब्याक भएर जित निकाल्न सकिएको बताए ।
मछिन्द्रका प्रशिक्षकले पहिलो हाफ राम्रो भएको तर दोस्रो हाफमा आफू सम्हालिन नसक्दा हार व्यहोर्नु परेका बताए । उनले खेलाडी थाकेकाले पनि दोस्रो हाफमा भनेजस्तो खेल्न नसकेको बताए ।
फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने मुल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीले बताए ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउने आयोजक सेन्टरका उपाध्यक्ष अशोक राईले बताए ।
उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउने छन् । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ११ हजार र ट्रफी पाउने छन् ।
मेचीनगर नगरपालिका संरक्षक रहेको प्रतियोगिताको मुख्य प्रायोजक धुलाबारीको होटल मेची क्राउन रहेका छन् ।