
बिर्तामोड, चैत ३ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आज बिहान १२ः०१ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ घटाइएको हो ।
त्यस्तै, डिजेल र मट्टीतेलमा पनि प्रतिलिटर ४ रूपैयाँले मूल्य घटेको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट १५ मार्चमा प्राप्त पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्यमा घटेर आएअनुसार मूल्य समायोजन गरिएको हो ।
निगम सञ्चालक समितिको निर्णयअनुसार इन्धनको नयाँ मूल्यअनुसार अब झापासहित कोशी प्रदेशमा पेट्रोल प्रतिलिटर १६०।५० रूपैयाँमा उपलब्ध हुनेछ । त्यस्तै, डिजेल र मट्टीतेल प्रतिलिटर १४८।५० रूपैयाँ पर्नेछ ।
निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् ।
यो क्षेत्रमा अब पेट्रोलको भाउ १६० रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १४८ रूपैयाँ ५० पैसा पर्नेछ ।
त्यस्तै, दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १६२ रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १५० रूपैयाँ पर्नेछ ।
तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १६३ रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १५१ रूपैयाँ पर्नेछ ।
यसरी हुन्छ मूल्य निर्धारण
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैँ कच्चा तेल खरिद गर्दैन । आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । यसरी पेट्रोलियम किनेबापत आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ ।
आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ । लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत अन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ ।
त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ ।
यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ । यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठुलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो ।