२०८१ चैत्र ५ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा एसइइ दिने विद्यार्थी बढे, तयारी पूरा


फाइल फोटो

बिर्तामोड, चैत ५ । झापामा गत वर्षभन्दा यो वर्ष माध्यमिक शिक्षा परीक्षा ‘एसइइ’ मा सहभागी विद्यार्थीको संख्या बढेको छ । यो वर्ष १७ हजार २८ जना सहभागी हुँदै छन् भने गत वर्ष १५ हजार ८२२ जना सहभागी थिए ।

झापाका १३१ सामुदायिक तथा २३९ संस्थागत गरी ३७० विद्यालयका विद्यार्थीहरु एसइइमा सहभागी बन्ने शिक्षा विकास तथा समन्वय इकाइ झापाले जनाएको छ । जसमा छात्रातर्फ ८ हजार ७८४ तथा छात्रतर्फ ८ हजार २४४ परीक्षार्थी रहेका छन् ।

झापामा नियमिततर्फ ७ हजार ७९३ छात्रा तथा ७ हजार ४०८ छात्र गरी १५ हजार २०१ जना सहभागी छन् । ग्रेडवृद्धितर्फ ९९१ छात्रा तथा ८३६ छात्र गरी १ हजार ८२७ परीक्षार्थी सहभागी छन् ।

प्राविधिक धारतर्फ २३९ छात्रा तथा २८३ छात्रा गरी कुल ५२२ परीक्षार्थी सहभागी हुने छन् । हाल झापाका १५ विद्यालयमा प्राविधिक धार सञ्चालनमा छन् । जसमा बाली विज्ञान, सिभिल इन्जिनियरिङ, पशु विज्ञान तथा कम्प्युटर इन्जिनियरिङ समावेश छन् ।

झापाका चार संस्कृत विद्यालयका ५४ परीक्षार्थी संस्कृत शिक्षातर्फ परीक्षामा सहभागी बन्नेछन् । देवी मावि बिर्तामोड र हिमालय मावि दमकका ७६ जना परीक्षार्थी खुला शिक्षातर्फ र सरस्वती मावि दमकका २ दृष्टिविहीन सहभागी हुने छन् ।

झापामा ५७ केन्द्र निर्धारण

यो वर्ष झापामा एसइइ सञ्चालनका लागि ५७ केन्द्र निर्धारण गरिएको छ । केन्द्र निर्धारण गर्दा भौगोलिक अवस्था, भौतिक पूर्वाधार तथा विद्यालयको इच्छासमेतलाई दृष्टिगत गरी निर्णय गरिएको झापाका समन्वय इकाइ प्रमुख देवेन्द्रबहादुर मल्लले बताए ।

झापाका ५७ केन्द्रमध्ये प्राविधिक धारतर्फका २ तथा संस्कृततर्फका ४ केन्द्र तय भएका छन् । अन्य केन्द्र साधारण धारतर्फका छन् ।

यसैबीच, पर्सि चैत ७ गते बिहीबारबाट हुने एसइइको सम्पूर्ण तयारी पूरा भएको समन्वय इकाई झापाका प्रमुख मल्लले जानकारी दिए ।

मल्लका अनुसार प्रश्नपत्र सम्बन्धित स्थानमा पुर्‍याइसकिएको छ । उत्तरपुस्तिका यसअघि नै सबै केन्द्रमा पुर्‍याइएको उनले बताए । सोमबार सबै केन्द्राध्यक्षहरुलाई अभिमुखीकरणका लागि जिल्लामा आमन्त्रण गरिएको उनले जानकारी दिए ।

Adv footer