
बिर्तामोड, चैत २२ । राजस्व अनुसन्धान कार्यालय इटहरीले झापाको कचनकवल गाउँपालिकाको बनियानी बजारमा रहेका दुईवटा पसलमा छापा मारेको छ ।

कार्यालयले ज्योति कपडा पसल र एके सप्लायर्समा छापा मारेको हो । अवैध रुपमा कारोबार गर्दै आएका व्यवसायी अरुण साहले सञ्चालन गरेको पसलबाट यसअघि पनि अवैध कपडा बरामद गरेको थियो ।

भन्सार छली गरी भारतबाट सामान ल्याएको सुराकीको आधारमा राजस्व अनुसन्धान कार्यालय तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले छापा मारेको हो ।

करिब ३ घण्टासम्म चलेको अपरेसनबाट उक्त पसलको सम्पूर्ण कागजातहरु छानबिनका लागि लगिएको छ । पसलको माथिल्लो तला राजस्व कार्यालयले सिल गरेको छ ।
यसअघि गत कात्तिक महिनामा साहकै गोदामबाट ४७ लाख रुपैयाँबराबरको राजस्व छली गरी ल्याइएका अवैध कपडा प्रहरीले बरामद गरेको थियो ।

इलाका प्रहरी कार्यालय बनियानीको कार्यालयसँगै जोडिएको गोदाममा साहले ती अवैध सामान राखेका थिए । नेपाल भारतको खुला सिमानाको फाइदा उठाउँदै तस्करहरुले अवैध रुपमा ओसारपोसार गर्ने गरेका छन् ।
प्रहरीकै मिलेमतोको आशंका
यसैबीच, साहले बजारबाहिरका गाउँमा गोदाम बनाएर अवैध कपडा राख्ने गरेको तर बजारमा अनुसन्धान गरेको देखाउनु सुरक्षाकर्मीको मिलेमतो रहेको स्थानीयको आरोप छ ।
साहलगायतले केचना, दल्लेगाउँ, पाठामारी लगायतका सीमावर्ती नाकाहरू हुँदै लामो समयदेखि कपडा लगायतका विभिन्न सामग्री तस्करी गरिरहेको भए पनि अहिलेसम्म पक्राउ नपर्नु सुरक्षाकर्मीहरूको भूमिकामाथि स्थानीयले शंका गरेका छन् ।
हिजो बिहानैदेखि सशस्त्र प्रहरी बल बिओपी केचनाका प्रहरी निरीक्षक सागर राई र इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी निरीक्षक रोहितबहादुर मगरकै सेटिङमा अवैध कपडा आउने गरेको बताइन्छ ।
बनियानी चोक तथा बजार प्रवेश गर्ने स्थानहरूमा कडा निगरानी राखिएको देखिए पनि राति २ बजेपछि मोटरसाइकल र पिकअप भ्यान प्रयोग गरी व्यापारीको बाक्लो आवतजावत भएको स्थानीयहरूले बताएका छन् ।





