
बिर्तामोड, चैत २२ । झापाको अर्जुनधारामा जारी प्रथम वडास्तरीय टि-२० क्रिकेट प्रतियोगिताको आज भएको पहिलो क्वार्टर फाइनल खेलमा वडा नम्बर २ सेमिफाइनलमा प्रवेश गरेको छ ।

अर्जुनधारा-७ स्थित अर्जुनधारा रङ्गशालामा भएको खेलमा अर्जुनधारा-२ ले अर्जुनधारा १ माथि शानदार जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको अर्जुनधारा-१ ले १२ ओभर २ बलमा सबै विकेट गुमाएर २५ रन मात्रै जोड्न सक्यो ।

२६ रनको झिनो लक्ष्य पाएको अर्जुनधारा-२ ले ४ ओभर १ बलमा दुई विकेट गुमाएर सहजै लक्ष्य पूरा गर्यो ।
उत्कृष्ट प्रदर्शन गरेका अर्जुनधारा २ का खेलाडी मिलन लामिछाने खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले नगद १ हजार पुरस्कार पाए ।

चैत २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५० हजार तथा उपविजेताले नगद २५ हजार नगदसहित ट्रफी तथा मेडल पुरस्कार पाउने समितिका सचिव खगेन्द्र लिङ्देनले जानकारी दिए ।





