२०८१ चैत्र २५ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

अर्जुनधारा वडास्तरीय क्रिकेटः उपाधिका लागि वडा नम्बर ४ र ८ खेल्दै


बिर्तामोड, चैत २५ । झापाको अर्जुनधारामा जारी प्रथम वडास्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि अर्जुनधारा-४ र अर्जुनधारा-८ खेल्ने भएका छन् ।

पहिलो सेमिफाइनल खेलमा वडा नम्बर २ लाई ५६ रनले पराजित गर्दै वडा नम्बर ८ फाइनलमा प्रवेश गरेको हो । २० ओभरको खेलमा वडा नम्बर ८ ले पाँच विकेट गुमाएर १५६ रन बनायो ।

१५७ रनको लक्ष्य पछाएको वडा नम्बर २ ले ब्याटिङतर्फ उत्कृष्ट प्रदर्शन गर्न सकेन । उसले १८ ओभर ३ बलमा सबै विकेट गुमाएर ९९ रन मात्रै जोड्न सक्यो । खेलको प्लेयर अफ द म्याच वडा नम्बर ८ का भुवन सञ्जेल भए । उनले नगद एक हजार पाए ।

अन्तिम सेमिफाइनल खेलमा वडा नम्बर ७ लाई ५५ रनले पराजित गर्दै वडा नम्बर ४ फाइनलमा प्रवेश गरेको हो । पहिलो ब्याटिङ रोजेको वडा नम्बर ४ ले १९ ओभर ४ बलमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो ।

१२८ रनको लक्ष्य पछाएर जवाफी ब्याटिङमा उत्रिएको वडा नम्बर ७ ले १३ ओभर ३ बलमा सबै विकेट गुमाएर ७३ रन मात्रै बनाउन सक्यो । वडा नम्बर ४ का तुषार मगर खेलको प्लेयर अफ द म्याद भए । उनले नगद एक हजार पाए ।

अर्जुनधारा नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल आज अर्जुनधारा रङ्गशालामा हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार पुरस्कार पाउनेछ ।

प्लेयर अफ द सिरिजले आकर्षक बाइसाइकल प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर, बेस्ट क्याचरले जनही तीनतीन हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

Adv footer