२०८२ बैशाख ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

चन्द्रगढी भेट्रानः काँकरभिट्टाको शानदार जित


भद्रपुर, बैशाख ६ । रमेशकुमार बस्नेतको ह्याट्रिक मद्दतमा काँकरभिट्टा भेट्रान एफसीले गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

आज भद्रपुरको मेची रंगशालामा भएको उद्घाटन खेलमा दमक भेट्रान एफसीलाई ३-० गोल अन्तरले हराउँदै काँकरभिट्टाले शानदार जित दर्ता गरेको हो । जितसँगै काँकरभिट्टा क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

बस्नेतले खेलको पाँचौँ, २६ औँ र ५६ औँ मिनेटमा गोल गरे । उनी खेलको प्लेयर अफ द म्याच भए । उनले नगद २१०० रुपैयाँ पाए ।

राष्ट्रिय टोलीका पूर्वसदस्य गम्भीर राईको स्मृतिमा भएको प्रतियोगितामा झापा ११ र मोरङको एक गरी १२ टिमको सहभागिता रहेको आयोजक चन्द्रगढी भेट्रान क्लबका अध्यक्ष गजेन राईले जानकारी दिए ।

बैशाख १३ गते हुने फाइनल खेलको विजेताले नगद १ लाख १ हजार र उपविजेताले नगद ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका उपाध्यक्ष बिक्की जैसवालले जानकारी दिए ।

त्यस्तै, प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीलाई नगद ३१०० र ट्रफी प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई नगद र ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।

भद्रपुर नगरपालिका सहयोगी रहेको प्रतियोगिताको मुख्य प्रायोजक ओमकार हार्डवयेर तथा ओमकार रेडीमिक्स भद्रपुर रहेको छ । प्रथम पुरस्कार टार्जन गुरुङ र चन्द्रगढी–भद्रपुर वैदेशिक रोजगार समूहले उपलब्ध गराएको हो ।

Adv footer