
भद्रपुर, बैशाख ८ । पूर्वेली युवा क्लब बिर्तामोड र दुधे भेट्रान क्लब गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश छन् ।
भद्रपुरको मेची रंगशालामा भएको खेलमा हिमाली युनाइटेड क्लबलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै पूर्वेली सेमिफाइनलमा प्रवेश गरेको हो ।
पूर्वेलीका लागि विक्रम श्रेष्ठले ह्याट्रिक पूरा गरे । उनले खेलको १८ औँ, २९ औँ र ४८ औँ मिनेटमा गोल गरे भने खेलको ४९ औँ मिनेटमा पदम राईले एक गोल गरे । खेलको प्लेयर अफ द म्याच पूर्वेलीका तीन गोलकर्ता श्रेष्ठ भए । उनले नगद २१०० रुपैयाँ पाए ।
त्यस्तै, आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा दुधेले काँकरभिट्टा भेट्रान एफसीलाई टाइब्रेकरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा गोलरहित बराबारीमा खेल सकिएपछि टाइब्रेकरमा धकोलिएको थियो । टाइब्रेकरमा काँकरभिट्टालाई ४-३ गोल अन्तरले दुधेले हराएको हो ।

राष्ट्रिय टोलीका पूर्वसदस्य गम्भीर राईको स्मृतिमा भएको प्रतियोगितामा झापा ११ र मोरङको एक गरी १२ टिमको सहभागिता रहेको आयोजक चन्द्रगढी भेट्रान क्लबका अध्यक्ष गजेन राईले जानकारी दिए ।
बैशाख १३ गते हुने फाइनल खेलको विजेताले नगद १ लाख १ हजार र उपविजेताले नगद ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका उपाध्यक्ष बिक्की जैसवालले जानकारी दिए ।
त्यस्तै, प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीलाई नगद ३१०० र ट्रफी प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई नगद र ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।
भद्रपुर नगरपालिका सहयोगी रहेको प्रतियोगिताको मुख्य प्रायोजक ओमकार हार्डवयेर तथा ओमकार रेडीमिक्स भद्रपुर रहेको छ । प्रथम पुरस्कार टार्जन गुरुङ र चन्द्रगढी–भद्रपुर वैदेशिक रोजगार समूहले उपलब्ध गराएको हो ।