२०८२ बैशाख ९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

चन्द्रगढी भेट्रान फुटबलमा उर्लाबारी विजयी


भद्रपुर, बैशाख ९ । मोरङ उर्लाबारीको ढल्के जोवन भेट्रान एफसी गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भद्रपुरको मेची रंगशालामा भएको खेलमा बिर्तामोड भेट्रान एफसीलाई टाइब्रेकरमा हराउँदै ढल्के जोवनले अन्तिम चारमा स्थान बनाएको हो ।

यसअघि निर्धारित समयमा २-२ गोलको बराबारी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलमा अग्रता बिर्तामोडले बनाए पनि टाइब्रेकार हार व्यहोर्न पुग्यो ।

बिर्तामोडका लागि खेलको तेस्रो मिनेटमा कृष्ण शाक्य र ३६ औँ मिनेटमा भूपेन लिम्बूले गोल गरेका थिए । त्यस्तै, ढल्के जोवनका लागि खेलको ३३ औँ मिनेटमा डेनिम राई र ५० औँ मिनेटमा नोर्बु लामाले गोल गरे ।

खेलको प्लेयर अफ द म्याच ढल्के जोवनका गोलकिपर राजेन्द्र धिमाल भए । उनले नगद २१०० रुपैयाँ पाए ।

राष्ट्रिय टोलीका पूर्वसदस्य गम्भीर राईको स्मृतिमा भएको प्रतियोगितामा झापा ११ र मोरङको एक गरी १२ टिमको सहभागिता रहेको आयोजक चन्द्रगढी भेट्रान क्लबका अध्यक्ष गजेन राईले जानकारी दिए ।

बैशाख १३ गते हुने फाइनल खेलको विजेताले नगद १ लाख १ हजार र उपविजेताले नगद ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका उपाध्यक्ष बिक्की जैसवालले जानकारी दिए ।

त्यस्तै, प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीलाई नगद ३१०० र ट्रफी प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई नगद र ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।

भद्रपुर नगरपालिका सहयोगी रहेको प्रतियोगिताको मुख्य प्रायोजक ओमकार हार्डवयेर तथा ओमकार रेडीमिक्स भद्रपुर रहेको छ । प्रथम पुरस्कार टार्जन गुरुङ र चन्द्रगढी–भद्रपुर वैदेशिक रोजगार समूहले उपलब्ध गराएको हो ।

Adv footer